बौद्ध संस्कृति सिध्याउन खोज्दा कसरी ढले’थ्यो तिब्बती राजा लाङदर्माको सत्ता ?


काठमाडौं । तिब्बतमा बौद्ध धर्मालम्बीहरुको सुरुवात नेपालकी चेली भृकुटीको विवाहको समयदेखि सुरु भएको हो । भृकुटीलाई तिब्बती राजा स्रोङ चोङ गम्पोसँग विवाह गर्ने बेलामा नै नेपाल तर्फ ढोका राख्नेदेखि बौद्ध धर्मको गुम्बा बनाउनेसम्मको शर्त पूरा गरेपछि भृकुटी विवाहको लागि राजी भएकी थिईन् । सोही समयदेखि सुरु भएको बौद्ध धर्म नवौं शताब्दीसम्म पुग्दा धेरैहदसम्म फैलिईसकेको थियो । नवौं शताब्दीको मध्य पूर्व तिब्वतको तेस्रो धर्मा–राजा राल–पा–चेनको मृत्युपछि त्यहाँका लाङदर्मा राजा भए । त्यो समय सन ८३८ को थियो । आफ्ना पिता राजा नभएपनि उनी कसरी शासनमा आए भन्ने बारेमा इतिहासमा खासै उल्लेख पाईँदैन । भएको भएपनि तिब्बती भाषामा लेखिएका विषयहरु अन्य भाषामा अनुवाद भएका छैनन् । उनको शासनकालको समयबारे केही विवाद वा मतभेद त जारी नै छ । यद्यपि उनको स्वभावकोे बारेमा भने केही सर्वमान्य कहानीहरु पनि पाईन्छ ।

उनी बौद्ध धर्मप्रति एकदमै आक्रोश र उपेक्षा राख्ने स्वभावका शासक थिए । उनी आफैं बौद्ध धर्मालम्बीको परिवारमा जन्मिएका थिए । तर, उनी बौद्धमार्गीप्रति किन त्यति तुष पाल्ने स्थितिमा पुगे यस विषयमा इतिहासमा खासै कुराकानी भेटिएको छैन । उनी शासनमा आएलगत्तै उनले बौद्ध धर्मलाई होच्याउने र उनीहरुको संस्कृति नष्ट गराउने तर्फ आक्रामक रुपमा लागिपरे । इतिहासकारहरुका अनुसार उनले केवल ३ वर्ष मात्रै आफ्नो शासनसत्ता सम्हालेका थिए । ३ वर्षसम्म उनको सरकारले गरेको सांस्कृतिक ज्यादति र उनले देखाएको बौद्ध विरोधि गतिविधिका कारण उनलाई शासनसत्तामा पुगेको तेस्रो वर्षमा नै हत्या गरिएको थियो ।

आठौं शताब्दीको अन्त्यमा अर्थात् सन् ७९९ मा दर्माको एक तिब्बती बौद्ध परिवारमा जन्म भएको हो । उनका पिताको नाम साद ना लेग्स थियो भने उनकी माताको नाम ब्रो ब्जा थियो । उनले तिब्बतमा सन् ८३८ देखि ८४१सम्म शासन गरेको ऐतिहासिक स्रोतहरुमा भेटिन्छ । उनी तिब्वतका तेस्रा धर्मा–राजा राल–पा–चेन पछि राजा भएका थिए ।

सो समयतिर कुमाउँमा स्थापना भएको कत्यूरी शासन दशौं शताब्खीको अन्त्यसम्म कायम भएको थियो । इतिहासकार डा. सूर्यमणि अधिकारीको खस साम्राज्यको इतिहास नामक पुस्तकका अनुसार भारतको मैदानी भागबाट आएका चन्द राजाहरुको दमनले गर्दा स्थानीय खस शासकहरु यत्रतत्र लाग्न बाध्य भए । त्यहि बेला तिब्बतमा दर्माको शासन थियो । उनले जनतालाई बौद्धधर्म मान्न पनि नदिनेखालको नीति ल्याएको र उनीहरुमाथि नियोजित रुपमा दमन गर्न थालेपछि उनको हत्या भयो । उनको हत्यापछि तिब्बतको राजनीतिमा ठूलो गोलमाल सुरु भयो । त्यही विषयमा ल्हासाको राजवंशमा कलह र विखण्डन सुरु भयो । तिब्बत ः एक राजनीतिक इतिहास नामक पुस्तकका अनुसार यस्तो कलहको स्थितिमा कुमाउँ भेगका खसहरुले दक्षिण पश्चिमी तिब्बतमा गएर आफ्नो प्रभाव जमाउन सफल भए । त्यहाँ बौद्ध धर्मालम्बीहरुको संगतबाट उनीहरुले पनि बौद्ध धर्म अपनाउँन थाले । उनीहरुको आनिबानी र चालचलन सिक्दै गएपछि उनीहरुमाथि स्थानीय संस्कृतिको प्रभाव बढ्दै गयो । त्यतिबेला उनीहरुका नाम समेत तिब्बतीकरण भएका थिए । पछि बौद्ध विरोधि शासकलाई हटाएका तिब्बती नागरिकहरुले बौद्ध धर्म अपनाएका हुनाले उनीहरुलाई नै स्थानीयले स्वतन्त्र शासक मान्न थाले । पछि उनीहरुकै सन्तान कर्णालीमा आएर नागराजको नामबाट सिञ्जालाई राजधानी बनाएर शासन गर्र्न थाले ।

तत्कालीन बौद्ध विरोधी दर्माको हत्याको विषयमा पनि अर्कै एउटा किंवदन्ती पाईन्छ । यो विषयमा कुनैपनि लिखित विवरण पाईँदैन । यद्यपि किंवदन्तीहरुका अनुसार दर्माको अन्याय सहन नसकी ल्हालुङ पाल्गी दोर्जेले उनको हत्या गर्ने योजना बनाएको कहानी गुरुङहरुको मुखबाट सुन्न सकिन्छ । अब पनि सहेर बस्ने हो भने तिब्बतबाट बौद्धधर्म नै नामेट हुने चिन्ता लागेपछि दोर्जेले दर्माको हत्या गर्ने योजना बनाएका थिए । जसको लागि उनले सेतो घोडालाई कालो रङ्ग दलेर कालो घोडा बनाई लाङदर्मालाई हत्या गरेर त्यहाँबाट भागे ।

लाङदर्माका सेनाले उनलाई पक्राउ गर्नको लागि उनको पछि पछि कुदेका थिए । खोला तर्ने बेलामा उनी घोडासहित खोलामा छिरे । खोलामा डुबेर बाहिर निस्कँदा उनले कालो रंग दलेको घोडा पूर्ववत् सेतो बनेको देखेर तिब्बती सेनाहरुले उनलाई भूत सम्झिएर फकिएको भन्ने कहानी गुरुङ समुदायमा पाईन्छ । दोर्जे लाङटाङ उपत्यकासम्म आएर बसेका थिए । त्यसैले तिब्बती भाषामा ता भनेको घोडा र माङ भनेको भूत भएको भनेर अहिलेका तामाङ समुदायको नाम रहन गएको भन्ने तामाङहरुको ऐतिहासिक कहानीमा सुन्न सकिन्छ । त्यसैले उनीहरु तामाङ संस्कृतिको लागि सधैंभरी लागिरहनु पर्ने उनीहरु आफैं बताउँछन् ।

प्रकाशित: समय: 20:02:29  421पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार