तामाङपेज संवाददाता ।
मोरङ। नेपाल आदिवासी जनजाति महासङ्घ ,बेलबारी-११ वडा समन्वय समितिको आयोजनामा वडा कार्यालयको आर्थिक सहयोगमा जेष्ठ १७ गतेदेखि जेष्ठ २८ गतेसम्म संचालित पाँच दिने उदघोषण ,बैठक संचालन तथा पन्ध्र दिने ढाका बुनाइ तालिमको मंगलबार नगर वडा सदस्य इन्द्रकुमार राईको प्रमुख आतिथ्यमा समापन भएको छ ।
प्रमुख अतिथि एबम वडा सदस्य राईले उदघोषण तथा बैठक संचालन ,ढाका बुनाइ तालिम लिने प्रशिक्षार्थीहरु,प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
समापन कार्यक्रमको संचालन रेश्मिका राई,गौरव श्रेष्ठले गरेका थिए । सीप सिकौ ,स्वरोजगार बनौं ,क्षमता विकास गरि नेतृत्व बनौं भन्ने मुलनाराकासाथ संचालित पाँच दिने उदघोषण तथा बैठक संचालन सम्बन्धि तालिमको संयोजक भाइकुमार गुरुङ ,प्रशिक्षक शान्ति पाख्रीन तामाङ,पन्ध्र दिने ढाका बुनाई तालिम संयोजक शान्ता मोक्तान ,तालिमको प्रशिक्षक धनमाया मोक्तान तामाङ रहेकी थिइन् ।
पाँच दिने उदघोषण तथा बैठक संचालन तालिममा १२ जना र पन्ध्र दिने ढाका बुनाइ तालिममा ९ जना गरि कुल २१ जनाले तालिम लिएको नेपाल आदिवासी जनजाति महासङ्घ वडा समन्वय समिति बेलबारी – ११ मोरङका अध्यक्ष लुतन लिम्बुले बताएका छन् ।