टोकियो, जापान । मे २१ आइतबार जापानको टोकियोमा सांगीतिक सांझ सम्पन्न भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले केन्द्रीय भवन निर्माणमा सहयोग पुर्याउने उदेश्यले कार्यक्रमको आयोजन गरेको थियो।
कार्यक्रममा नेपाली र जापानी कलाकारले प्रस्तुति राखेका थिए। जापानी नागरिक आओई सानोले “पानको पात, नेपालको याद आउँछ दिनको रात”, रेशम फिरिरी भन्दै नेपाली गीत गाएर दर्शकलाई छमछम नचाईन् । व्यस्त जीवनलाई पन्छाउदै हतार हतार गर्दै थकित मुद्रामा पुगेका नेपालीहरु उनको प्रस्तुति र संगीतले प्रफुल्ल देखिन्थे । उनको प्रस्तुति सकिने बितिकै अर्की जापानी किशोरी हावा मल्ले जाउँ है रेलैमा भन्ने नेपाली गीतमा नृत्य गरिन् र अरुलाई पनि नचाईन् । त्यस्तै नेपाली कलाकारले यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जूनकिरी झै ज्योती बाली अन्धकारमा चम्किन्छ, त्यसै गरि “जहाँँ छन् बुद्धका आँखा स्निक शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र मेरो नेपाल मनमोहर ।” सालैजु, बाँसुरीको धून” जस्ता राष्ट्रिय भावले ओतपोत प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । त्यसै वीचमा कतिपय कलाकारले “लादमर्दो बनाई छाड्यौ नेपाली हुँ भन्न पनि” जस्ता गाथा र व्यथा समेटिएका प्रस्तुति पनि पस्केका थिए । हरेक प्रस्तुतिमा नेपालको माया, देशको अवस्था, बिदेशीनु परेको पीडा मात्रै देखिन्थ्यो । सोही क्रममा प्रमुख अतिथीको दिर्घाबाट बोल्दै ईश्वर गुरुङले संगीतले गुजारा नचलेपछि विदेशीनु परेको बाध्यता सुनाउनुभयो। “अहिले त केही सहज छ तर द्वन्दकालमा संगीतलाई पेशा बनाउने बातावरण थिएन” त्यसैले विदेशिनु पर्यो, गुरुङले गुनासो पोख्नुभयो । अध्यक्षको आशनबाट बोल्दै प्रतिष्ठान अध्यक्ष युवराज आचार्यले प्रतिष्ठानको केन्द्रीय भवन निर्माणमा सांगीतिक सांझले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दर्शकले गरेको आर्थिक सहयोगलाई जस्ताको तस्तै केन्द्रमा पठाउने प्रतिवद्वता समेत व्यक्त गरे । कार्यक्रम प्रतिस्ठानका उपाध्यक्ष सूर्य खडकाको स्वागत तथा सचिव नारायण कँडेलको संचालनमा सम्पन्न भएको थियो ।