कोन्ज्योसोम पदयात्रा शुरु


तामाङपेज संवाददाता।

ललितपुर ।

कोन्ज्योसोम गाउँपालिकाको प्रायोजन र कोन्ज्योसोम क्षेत्र विकास समितिको आयोजनामा दुई दिने कोज्योसोम पदयात्रा(हाइकिङ)को गाउँपालिका अध्यक्ष गोपिलाल सिंतान तामाङले नल्लु पाथिभरा मन्दिरबाट शुक्रबार सुरुवात गर्नु भएको छ ।

राष्ट्रिय मूलधारका संचारकर्मी,ललितपुर जिल्लाका संचारकर्मी गरि दुई दर्जन भन्दा बढी पत्रकारहरु,गाउँपालिका उपाध्यक्ष मिङमा लामा,प्रमुख प्रशासकिय अधिकृत रोमबहादुर महत,कोन्ज्योसोम -१ चौघरे वडाध्यक्ष सन्तलाल लामा,कोन्ज्योसोम-२ वडाअध्यक्ष ध्रुवप्रसाद घिमिरे,कोन्ज्योसोम-३ दलचोकी वडाअध्यक्ष तीलक बम्जन तामाङ,कोन्ज्योसोम -५ भारदेउ वडाअध्यक्ष सुबिन्द्र तामाङ,कोन्ज्योसोम इलाका प्रहरी कार्यालय ईन्चार्ज प्रहरी नायव निरिक्षक नरेन्द्र बडु,जनप्रतिनिधिहरु,विद्यालयका प्र.अ.शिक्षक ,शिक्षिका,स्वास्थ्यकर्मी,क्लब,संघ,संस्थाका प्रतिनिधिहरु लगायतको सहभागी रहेको कोन्ज्योसोम क्षेत्र विकास समितिका अध्यक्ष मीनबहादुर मोक्तान तामाङले बताउनु भएको छ ।

“कोज्योसोमलाई चिनौ र चिनाऔ,आन्तरिक पर्यटकको प्रवर्द्धन गरौ” भन्ने नाराकासाथ शुरु भएको कोन्ज्योसोम पद यात्राको पहिलो दिन नल्लु पाथिभरा मन्दिर,दलचोकी मनकामना मन्दिर,संखुको कृष्ण प्रणामी मन्दिर ,मगर गाउँको तामाङ सङग्राहलयको यात्रा गरि भारदेउमा रहेको गुप्तेश्वर महादेव,गुप्तेश्वर गुफा,कोन्ज्योसोम स्तुपाको पद यात्रा गर्ने कार्यक्रम रहेको समितिका सचिव रोशन गोले तामाङले जानकारी गराएका छन् ।

शनिबार,गुप्तेश्वर महादेव,गुफाको दर्शन ,पुजापाठ गरेर भारदेउ पौवामा रहेको बुद्ध चैत्यमा कोन्ज्योसोम पदयात्राको समापन गर्ने कार्यक्रम रहेको कोन्ज्योसोम क्षेत्र विकास समितिले जनाएको छ।

ललितपुरको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कोन्ज्योसोम गाउँपालिका भारदेउ,नल्लु,चौघरे,दलचोकी ,संखु वडा समेटेर कोन्ज्योसोम गाउँपालिका रहेको छ भने तामाङ जातिको बाहुल्यता रहेकाले गाउँपालिकाको नामकरण पनि कोन्ज्योसोम राखिएको छ ।
यस गाउँपालिकाभित्र तामाङ ,ब्राह्मण ,क्षेत्री,मगर ,नगरकोटी ,दलित ,नेवार लगायत विभित्र जातजातिको बसोबास रहेता पनि विकासले सोचे जस्तो फड्को मार्न सकिरहेको छैन ।

कोन्ज्योसोम पदयात्राले कोन्ज्योसोम गाउँपालिकाको गतिविधि ,मठ,मन्दिर,रहन सहन,जीवन शैली,आन्तरिक तथा बाह्य पर्यटकको गन्तब्यको लागि कोन्ज्योसोम गाउँपालिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छाप पार्न संचारकर्मी सम्मिलित यो पदयात्राले दक्षिण ललितपुरलाई नमुना योग्य गाउँपालिका दिलाउन ठोस टेवा मिल्नेछ । यो कार्य अन्य स्थानीय निकाय तथा सरोकारवालाले पनि सिक्नुपर्ने देखिन्छ ।
तस्बिर :
सन्तोष दहाल,एलकुमार तामाङ

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: समय: 10:35:47  1358पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार