निर्णयबिपरित गाउँपालिकाको भवन बनेको घलेभन्ज्याङमा अहिले धमाधम सरकारी जग्गा मिच्दै निजी घर बनिरहेका छन ।
स्थानीय तहको सिमाना, केन्द्र र नामाङ्कनका लागि गठन भएको समितिको सिफारिसमा पन्चकन्या गाउँपालिकाको केन्द्र मोठभन्ज्याङ कायम भयो। तर स्थानीय निर्वाचनपछी गाउँसभा निर्णयबाट केन्द्र परिवर्तन गर्दै लाकुरी भन्ज्याङमा सारियो । पञ्चकन्या गाउँपालिकाको कार्यालय भने घलेभन्ज्याङमा बनाईएको छ । सार्वजनिक जग्गामा बनाईएको पन्चकन्या गाउँपालिकाको कार्यालय अहिले घलेभन्ज्याङमा सरीसकेको छ ।
गाउँपालिकाले केहि समयअघी स्थायी कार्यालय लाकुरीभन्ज्याङ नै कायम रहेको स्पष्टिकरण दिएपनी सेवाग्राही घलेभन्ज्याङमै उक्लिन बाध्य छन ।पन्चकन्या गाउँपालिकाको मूलगेटभन्दा करिब २५ देखि ३५ मिटरमा दुई वटा घरका जग हालिएका छन् । भूकम्प र सडक विस्तारले घरमा असर पुगेपछि स्थानीयले सार्वजनिक जग्गामै पुनर्निर्माण थालेका हुन् ।
घलेभन्ज्याङमा सार्वजनिक जग्गा हडपी बनेका यी घर मात्रै होइनन्, वर्षाैंदेखि ठडिएका दर्जन घरहरू छन् । केही सार्वजनिक जग्गामै बनेका र केही मिचेर बनाइएका । स्थानीय सरकारलाई अटेर गर्दै सार्वजनिक जग्गामा घर निर्माण तीव्र बनेपछि गाउँपालिका अन्योलमा परेको छ । ‘म नजन्मिँदै सार्वजनिक जग्गामा घर बनाइए, केही अहिले बनाइँदै छ,’ पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर लामाले भने, ‘हटाउन सूचना जारी गर्दा समेत चुप लगेर बसेका छन् ।’ उनका अनुसार पञ्चकन्या गाउँपालिकाको घलेभन्ज्याङमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका ९ घर छन् । घलेभन्ज्याङमा करिब १० रोपनी सार्वजनिक जग्गा छ । त्यसको संरक्षण र आवश्यक परे भोगचलनका लागि सप्तकन्या प्राथमिक विद्यालयलाई दिइएको छ ।
विद्यालयको उपभोगका लागि जिल्ला वन कार्यालय नुवाकोटले अख्तियारी दिएको साबिकको पञ्चकन्या गाविस वडा १ का पूर्वअध्यक्ष रेलबहादुर तामाङले बताए । सप्तकन्या प्राविमा लामो समय व्यवस्थापन समिति अध्यक्ष रहेका तामाङले सार्वजनिक जग्गा हडप्ने होडबाजी चलिरहेको बताए ।
उनले तत्काल नापी ल्याएर सार्वजनिक जग्गा फिर्ता ल्याउने र संरक्षणको काम गाउँपालिकाले गर्नुपर्ने माग गरे ।