श्याम तामाङ,ललितपुर। चितवन जिल्ला,कालिका नगरपालिका वडा नं.८ गैरीबारीका वासिन्दा दुवै मृगौला पीडित भुवन वाँस्तोलाको उपचारका लागि हाल मकाउमा रहनु भएका समाजसेवी कृष्णबहादुर अधिकारी र नारायण थापाको पहलमा तेईस जना सहयोगीबाट संकलन भएको रु.५० हजार र अन्य सहयोगीहरुको ७ हजार गरि कुल ५७ हजार रुपैयाँ आर्थिक सहयोग कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले सोमबार गैरीबारीमा मृगौला पीडित वाँस्तोलाको निवासमा नै प्रदान गर्नु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी शक्तिखोर उपशाखाका सभापती दीपककुमार खड्काको सभाअध्यक्षतामा,कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठको प्रमुख आतिथ्य र नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश न.३ का प्रदेश सदस्य रामध्वज डल्लाकोटीको विशेष आतिथ्यमा सहयोग रकम प्रदान गरिएको कार्यक्रममा मृगौला पीडित बास्तोलालाई नगर प्रमुख श्रेष्ठबाट रु.५ हजार,कालिका नगरपालिका वडा न.९ वडा सदस्य वकिल पुरीबाट रु.२ हजार सहयोग गरेका थिए।
सो सहयोग प्रदान कार्यक्रममा कालिका नगरपालिका वडा नं.८ का वडाअध्यक्ष इमप्रसाद अधिकारी,वडा नं.९ का वडाअध्यक्ष हेमबहादुर क्षेत्री,श्री चतुरमुखी मावि प्र.अ.चन्द्रबहादुर गुरुङ,श्री गैरीबारी आधारभुत विद्यालय प्र.अ.ईश्वर गुरुङ,समाजसेवी कृष्णबहादुर अधिकारी धर्मपत्नी राधा अधिकारी,समाजसेवी पूर्ण पुरी,लिलाबहादुर श्रेष्ठ,स्थानीय बासीहरु लगायतका महानु भावहरुको सहभागिता रहेको थियो। नीज दुबै मृगौला पीडित वाँस्तोलाको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भई रहेको पारिवारिक श्रोतले जनाएका छन्।
हाल मकाउमा रहनु भएका नेपाल रेडक्रस सोसाइटी,शक्तिखोर उपशाखाका संस्थापक सदस्य,पूर्व कोषाध्यक्ष समेत रहनु भएका समाजसेवी कृष्णबहादुर अधिकारीले आर्थिक अवस्था कमजोर भएकाले मृगौला पीडित भुवन वाँस्तोलालाई स्वास्थ्य उपचारमा थप टेवा मिलोस भनेर आर्थिक सहयोग गरेको बताए।