महन्थ ठाकुरको प्रश्न– गृह मन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इण्डियनहरू नै हो ?


राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मधेसी र गैरमधेसीलाई फरक फरक कानुनले शासन गरिएको आरोप लगाएका छन् ।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ठाकुरले समानताको कुरा गरिए पनि मधेसी जनतालाई राज्यले जहिले पनि विभेद गरिरहेको आरोप लगाएका हुन् । उनले मधेसी जनता नागरिकता लिन जाँदा भारतीयले लिए भनेर प्रचार गरिएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले गृहमा बसेर नागरिता दिनेले नेपाली र गैरनेपाली छुट्याउन नसकेको आरोप लगाए । ‘लाइनमा भारतीय हुन्छ तर दिने कुर्सीमा को बसेको हुन्छ ?, ठाकुरले प्रश्न गरे, ‘गृह मन्त्रालयमा को बसेको छ ? त्यहाँ पनि इण्डियनहरू नै हो ? नागरिकता दिनेहरू पनि इण्डियनहरू हो? उनीहरूले आफ्नो नागरिकलाई चिनिरहेको छैन ? ‘

ठाकुरले नीति तथा कार्यक्रमले नागरिकका समस्या समाधान गर्न नसक्ने जिकिर गरे । उनले जनताबाट निर्वाचित रेशम चौधरीलाई संसदमा देख्न नपाउनु जनताको अपमान भएको उल्लेख गरे ।

त्यस्तै नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको बताए । उनले नीति कार्यक्रम काम भन्दा प्रपोगाण्डामा केन्द्रित भएको आरोप लगाए ।

प्रकाशित: समय: 7:21:34  284पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार