नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर


नेपाल तथा चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा उनका चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार ग्रेट हल अफ द पिपलमा द्धिपक्षीय बैठकपछि उनीहरुको उपस्थितिमा द्धिपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

पहिलो हस्ताक्षर पारवहन तथा यातायात सम्झौता कार्यान्वयनको सहमतिमा भएको थियो । त्यसमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा चीनका यातायातमन्त्री ली सियाओपेले हस्ताक्षर गरे ।

त्यस्तै, चिनियाँ सहयोगमा बनेका विद्यमान परियोजनाका मर्मत तथा सबलीकरणका लागि अनुदान र सहयोगपत्र हस्तान्तरणमा नेपालका तर्फबाट पराष्ट्रमन्त्री ज्ञवाली तथा चिनियाँ वाणिज्यमन्त्री झोङ शानले हस्ताक्षर गरे ।

आर्थिक तथा प्राविधिक सहयोग सम्झौता तथा नेपालको उत्तरी क्षेत्रमा जीविकाका क्षेत्रमा सहयोग सम्बन्ध सबलीकरणका विषयमा अर्थ मन्त्रालयका सचिव लालशंकर घिमिरे र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीका वाङ सिआवतावले हस्ताक्षर गरे ।

भन्सारका विषयमा आपसी प्रशासनिक सहयोगमा सचिव घिमिरे तथा नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले हस्ताक्षर गरे । नेपाल गुणस्तर विभाग तथा स्ट्यान्डर्ड एन्ड मेट्रोलोजी एन्ड स्ट्यान्डर्डाइजेसन एडमिनिष्ट्रेसन अफ चाइनाबीच सहयोगका सहमतिपत्रमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल तथा नेपालका लागि चिनियाँ राजदूत होउले हस्ताक्षर गरे ।

सांस्कृतिक सम्पत्तिको चोरी, गोप्य उत्खनन्, गैरकानुनी आयात तथा निर्यात प्रतिबन्ध लगाउने सम्झौतामा राजदूत पौड्याल र चीनको एडमिनिष्ट्रेसन अफ नेसनल कल्चरल हेरिटेजका लियु युझुले हस्ताक्षर गरे ।

उक्त अवसरमा प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसदका सदस्य र नेपाल सरकारका उच्च अधिकारीको उपस्थिति थियो । त्यसअघि राष्ट्रपति भण्डारीलाई चीन सरकारले राजकीय सम्मान दिएको थियो । राष्ट्रपति भण्डारीलाई ग्रेट हल अफ द पिपुल्सको पूर्वी गेटको परिसरमा सम्मान दिइएको थियो । राष्ट्रपति भण्डारीलाई उनका चिनियाँ समकक्षी सी चिनफिङले ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए ।

त्यसक्रममा दुवै मुलुकको राष्ट्रिय धुन बजाइएको थियो । राष्ट्रपति भण्डारीका सम्मानमा चिनियाँ सेनाबाट सलामी दिइएको थियो । सैनिक सम्मानपछि चिनियाँ बालबालिकाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।

प्रकाशित: समय: 7:21:29  433पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार