नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकारका समस्या समाधान गर्न आफू लागिपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनका लागि पत्रकार महासंघको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । प्रेस जगतको भूमिकाकै कारण आफू अहिले याहाँसम्म आएको भन्दै उनले महासंघका माग सम्बोधन गर्न पहल गर्ने बताए ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यता एवम् संविधानको मूल मर्म र भावना अनुरुप राज्यका तीनवटै तहमा सञ्चारसम्बन्धी नीति, कानुन र संरचना निर्माण गर्न ध्यानार्कषण गराउँदै महासंघले अध्यक्ष प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघले सञ्चार क्षेत्रका समस्या समाधानका लागि नेपाल सरकार र विभिन्न राजनीतिक दललाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सीमित विषय सम्बोधन गरिएको र धेरै मुद्दाहरु अझै सम्बोधन नभएको स्मरण गराएको छ ।
ज्ञापनपत्रमा महासंघले पत्रकारहरुलाई समाचार लेखेकै आधारमा विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको अपराध मुद्दा लगाएर थुन्ने र जेल हाल्ने जस्ता कार्यले संविधानले सुनिश्ति गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पेशागत सुरक्षा थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको छ ।