‘अब बसले यात्रु होइन, यात्रुले बस कुर्छ’


काठमाडौंबाट पुर्वतर्फ जाने व्यस्त नाकाको रुपमा रहेको कोटेश्वरको अव्यवस्थित सवारी आवागमनलाई व्यवस्थित र चुस्त बनाउँदै सवारी साधन, वटुवा र यात्रुको सुरक्षाको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि ट्राफिक सुधार कार्यक्रम शुरु गरेको छ ।

यात्रु ‘पिक एण्ड ड्रप’ नीतिलाई कडाईका साथ लागु गरिने सो ट्राफिक सुधार कार्यक्रममा समावेश छ । समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरको पहल तथा अरनिको यातायात समितिको समन्वयमा शुरु भएको सो कार्यक्रमको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) बसन्त पन्तले शुभारम्भ गरे ।

कार्यक्रममा कोटेश्वर हुँदै पुर्वतर्फ चल्ने अरनिको यातायात लगायत विभिन्न यातायात समिति, यातायात मजदूर समिति लगायत यातायात क्षेत्रसंग सम्वन्धित संघ संगठनका पदाधिकारी तथा सदस्य, बस तथा ट्रिपर व्यवसायी, चालकहको सहभागिता थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै महाशाखा प्रमुख एसएसपि बसन्त पन्तले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न महाशाखाले गत चैत २२ देखि अभियानको रुपमा शुरु गरेको तीनमहिने ‘प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना २०७५’ अन्र्तगत हाल उपत्यकाका विभिन्न ठाउँको करिडोर खोल्ने, फुटपाथ हटाउने, कच्ची सडकहरु ग्राभेल गर्ने लगायतका थुप्रै कामहरु सञ्चालन भईरहेको बताए ।

एसएसपि पन्तले कोटेश्वरमा विद्यमान अव्यवस्थित यातायात सुधारकोे लागि सवारी चालकले लेन अनुशासन कायम गर्नुपर्ने, सार्वजनिक बस, मिनीबस र माइक्रोबसका चालकले बस विसौनीमा बाहेक अन्यत्रबाट असुरक्षित रुपमा यात्रु चढाउने र ओराल्ने काम गर्न नहुने, साइड लाइट र पछाडि आएको सवारी साधन हेर्ने ऐनाको ख्याल गर्नुपर्ने कुरामा जोड दिए ।

‘अब पहिलेको जस्तो कुनैपनि सार्वजनिक बस विसौनीमा बसले यात्रु कुर्ने होइन, अब बस विसौनीमा यात्रुले गएर बस कुर्छ’ भन्दै एसएसपि पन्तले अबदेखि बसविसौनी बाहेकका ठाउँबाट यात्रु चढाएमा या ओरालेमा तत्कालै त्यस्ता सवारी चालकलाई कारवाही गरिने प्रष्ट पारे ।

‘यात्रु आउन ढिलो भयो भने पछाडि आउने बसले बोक्छ, उसलाई कुरेर बस्न मिल्दैन, आफ्नो भागमा जति पर्छ त्यतिको मात्रै काम गर्नुपर्छ बढी लोभ गर्न हुँदैन’ एकजना यात्रुको लागि कुर्ने बसचालक प्रति इंगित गर्दै उनले भने । दुईजना यात्रुको भाडाको लोभ गर्दा पाँचसय रुपैयाँ जरिवनामा पर्न बेर छैन, चालकहरुलाई सचेत गर्दै उनले भने—‘अब सवारी धनीले हैन, गल्ती गर्ने चालक कारवाहीमा पर्छ ।’

कोटेश्वरको सवारी आवागमनलाई दीर्घकालीन रुपमा समाधान गर्न कोटेश्वर चोकमा फ्लाइ ओभर राख्ने र जक्सन विस्तार गर्ने विषयमा जाइकासंग कुरा भई राखेको, महानगरको ३२ नं वडासंग मिलेर जडिबुटी मनोहरा पुलदेखि बालकुमारी निस्किने करिडोर छिटो बनाउने, पेप्सीकोला हुँदै जडिबुटी चोकसम्मका वैकल्पिक सडक बनाउने कार्य शुरु भईसकेको पनि एसएसपि पन्तले बताए ।

कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, ट्राफिक प्रहरी निरीक्षक भगीरथ रेग्मीले आइतबारदेखि जनचेतनाको लागि एकहप्तासम्म सबैपक्षलाई राखेर ट्राफिक व्यवस्थापन सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने र आठौं दिनदेखि कारवाही प्रकृया अगाडि बढाइने प्रष्ट पारे ।

काठमाडौं महानगरपालिका ३२ नं वडाका अध्यक्ष नवराज पराजुलीले कोटेश्वरको ट्राफिक व्यवस्थापन चुस्त राख्न वडा कार्यालय चिन्तित रहेको उल्लेख गर्दै यसको अल्पकालिन र दीर्घकालिन समाधानको लागि आवश्यक कदम चालिसकेको बताए ।

जडिबुटी कोटेश्वर जाम हटाउनका लागि मनोहरा करिडोर र पाल्पाकोटको सडकलाई स्तरोन्नति गर्ने काम भईराखेको पनि अध्यक्ष पराजुलीले बताए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक सवारी साधनसंग सरकारले चर्काे कर उठाउने गरेको तर उनीहरुको लागि उचित पार्किंगको व्यवस्थापन नगरेको गुनासो गर्दै टावर बनाउने नाउँमा पुरानो बसपार्क र खुलामञ्च समेत अरु प्रयाजनमा लगाएकोप्रति आपत्ति जनाए ।

महासंघका उपाध्यक्ष जितबहादुर भारती तथा अखिल नेपाल यातायात मजदूर समितिका उपाध्यक्ष दिपक केसीले कोटेश्वरको जामको कारण बालकुमारीदेखि गठ्ठाघर र तिनकुनेदेखि पेप्सीकोलासम्म सवारी साधनको ताँती लाग्ने गरेको गुनासो गर्दै सडक किनारका फुटपाथ व्यवसाय हटाउन माग गरे ।

 

प्रकाशित: समय: 15:19:34  531पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार