श्याम ङेसुर तामाङ ,ललितपुर। वि.सं.१८१९ असोज २ गते काभ्रे तेमालका अन्तिम तामाङ राजा रिन्जीन दोर्जे बलले तेमाल जात्रालाई राजकीय जात्रा विशेष त महास्तुप बौद्धनाथको जिर्णोद्वारमा पुजापाठ सम्पन्न गरेको अवसरमा र तामाङ जातिको दिबङगत पितृहरु,समस्त प्राणी जगतले शुखवती लोकमा जन्म लिओस भन्ने महान उद्धेश्यले काभ्रे तेमालमा तेमाल जात्रा र बौद्धमा बौद्ध तेमाल जात्रा प्रत्येक वर्ष चैत्र पुर्णिमाको दिन मनाउने परम्परालाई जिबन्त राख्न शुक्रबार बौद्धनाथ क्षेत्र विकास समितिले पत्रकार सम्मेलन आयोजना गरेको छ ।
पत्रकार सम्मेलनमा बौद्ध तेमाल जात्राको सम्पुर्ण व्यवस्थापनको तयारी पूरा भएको जानकारी गराउदै समितिका अध्यक्ष चन्द्रमान लामाले बैशाख ५ गते बौद्ध तेमाल जात्रामा लाखौको तामाङ जनमानसको उपस्थिती हुनेमा नेपाल सरकारले सुरक्षाको ब्यवस्था चुस्त दुरुस्त गर्नुपर्ने ,बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा र बौद्ध तेमाल जात्रा मुल व्यवस्थापन समितिको संयोजनमा हुने बौद्ध तेमाल जात्रा अघिल्लो वर्षहरुमा भन्दा पनि ब्यवस्थित हुने जानकारी दिनु हुदै बौद्ध तेमाल जात्रा र तेमाल जात्राले तामाङ जातिको सांँस्कृतिक ,धार्मिक र जातिय पहिचानलाई जीवित राखेको बताए ।
यता समितिका कार्यकारी निर्देशक वसन्तकुमार लो तामाङले बौद्ध तेमाल जात्रा चैत्र पुर्णिमाको दिन हुने यस महान जात्रामा चैत्र पुर्णिमाको दिन बौद्ध ,बालाजु धारामा स्नान गर्दै,स्वयम्भू महाचैत्यमा पुजापाठ गरि विधिवत रुपमा तेमाल जात्रालाई विसर्जन गर्ने परम्परा रहेको जनाए ।
सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा बौद्धनाथ स्तूप( झ्यारुङ खस्योर छ्योर्तेन) लाई सुचिकृत गरेपछी बौद्ध तेमाल जात्राको महत्व बढेको बौद्धनाथ क्षेत्र विकास समितिका पुर्व अध्यक्ष सम्पूर्ण कुमार लामाले जनाउदै भक्तजनहरुले पनि पवित्र स्थल बौद्धनाथ ,बालाजु ,नागार्जुनको जामचो डाँडा ,स्वयम्भुमा दर्शन र पुजापाठ गर्दा आफ्नो अनि मन्दिर,परिक्रमा आसपासमा फोहोर हुन नदिई सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिए ।
बौद्ध महास्तुप धार्मिक ,साँस्कृतिक एबम ऎतिहासिक महत्व,विशेषता बोकेको स्तुपमा प्राचिन समयदेखी बौद्ध तेमाल जात्रामा तामाङ समुदायले आफ्ना दिबङगत पितृहरुको आत्माहरुले चिर शान्ति मिलोस भनेर चैत्र पुर्णिमाको दिन बौद्धनाथ स्तुपमा दीप प्रज्वलन र लामा गुरुहरुबाट पुजापाठ गर्ने गरेको बौद्धका स्थानिय समाजसेवी सुर्यवज्र लामाले बताउनु भयो ।
एक किम्बदन्तीअनुसार विपस्वी बुद्धले काठमाडौ उपत्यकामा नागार्जुन डाँडामा साधना गरि आफ्नो ऋषि शक्तिले चैत्र पुर्णिमाको दिन काठमाडौ उपत्यकाको दहमा कमलको बिज रोपी कमलको फूलमा स्वयम्भुको अलौकिक ज्योती उत्पन्न भएको स्मरणमा पनि तेमाल जात्रा प्रारम्भ भएको मत पनि पाईन्छ । विशेष त बौद्ध तेमाल जात्रा बौद्ध महास्तुपको जिर्णोद्वार गरि पुजापाठ र दिबङ्गत पितृहरुको आत्माको चिर शान्तिको लागि सम्झना स्वरुप काभ्रेमा तेमाल जात्रा र बौद्धमा बौद्ध तेमाल जात्रा परापुर्व कालदेखी प्रत्येक वर्ष चैत्र पुर्णिमाका दिन धुमधामकासाथ काभ्रे ,काठमाडौ ,ललितपुर ,सिन्धुपाल्चोक ,रसुवा ,नुवाकोट ,रामेछाप,दोलखा ,भक्तपुर ,नुवाकोट ,मकवानपुर लगायतका तामाङहरु तेमाल जात्रामा सहभागी भएर मनाउने गरेका छन् ।