तामाङपेज १३ चैत। नेपालका ३४ जिल्लाका फोटोपत्रकारहरु अहिले नेपालगन्जमा भेला भएका छन । पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत देशका विभिन्न ३४ जिल्लाका सामुदायिक सन्चारकर्मीहरुका लागि आयोजित तालिमका लागि उनिहरु भेला भएका हुन ।
तालिममा सार्वजनिक निकायले प्रवाह गर्ने सेवा सुविधाको प्रभावकारीताका लागि फोटोपत्रकारिता महत्वपूर्ण रहेकोमा जोड दिइएको छ । बुधबारबाट नेपालगन्जमा सुरु भएको फोटोपत्रकारिता तालिमको उद्घाटन सत्रमा फोटोपत्रकारिताले समाजको वास्तविक चित्रण गर्न सक्नेमा समेत जोड दिइएको थियो ।
फोटो पत्रकारिता पुर्नताजगी तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले समाजमा सीमान्तकृत समुदायको सवालहरुलाई देखाउनको लागि फोटोपत्रकारिता महत्पूर्ण रहेको बताईन । ‘फोटोपत्रकारले समाजमा महिला, दलित, जनजाति, अपांग, युवा, बालबालिकाहरुको सवालहरुलाई संचारमा ल्याएर वकालत गर्न सक्छन’, उपमेयर थापामगरले भनिन । ‘फोटोपत्रकारिताका माध्यमबाट स्थानीय निकायले प्रवाह गर्ने सेवा सुविधाहरु र यसको प्रभावकारीताको बारेमा पनि निगरानी गर्नु जरुरी छ ।’ उनले थपिन ।
नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष रुपा गहतराजले सामुदायिक सन्चारकर्मीहरुमा महिलाहरुको सहभागीता बढि देखिएकोमा खुसी व्यक्त गरिन । ‘समाजमा महिलाहरुको सवाल बाहिर नआइरहेको बेलामा अधिकांश संख्यामा रहेका महिला पत्रकारहरुले महिलासँगका सवालहरुलाई उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्’, उपाध्यक्ष गहतराजले भनिन ।
परियोजना अन्तर्गत एफएचआई ३६० की क्षमता विकास व्यवस्थापक रत्नबाबा तन्डुकारले फोटोपत्रकारिताको शीपलाई राज्यले प्रदान गर्ने शिक्षा, स्वास्थ्य, कृषि, विपद्का विषयमा गरेका कामकारवाहीको निगरानीमा लगाउनुपर्नेमा जोड दिईन ।
उपमेयर थापामगरले सहभागीहरुको फोटो खिचेर सुरु गरेको तीन दिने तालिममा इक्वेल इक्सेसका कार्यक्रम अधिकृत लक्ष्मी श्रेष्ठ, मिडिया आउटरिच म्यानेजर बिशाल रानामगर लगायतले बोलेका थिए भने आउटरिच एशोशियट भिमबहादुर सार्कीले कार्यक्रम सन्चालन गरेका थिए ।