काठमाडौं । विश्व पानी दिवसको अवसरमा विभिन्न संस्थाहरूको सहआयोजनामा वास(WASH)ओलम्पियाड तथा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । युवा पुस्तालाई पानी, पानी बचावटको महत्व र हरेक व्यक्तिसँग सम्बन्धित सरसफाइप्रति जागरूकता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा विजेताहरूलाई पुरस्कृत गरिएको छ ।
वास ओलम्पियाडमा त्रिचन्द्र क्याम्पसका सुशान्त दाहालले प्रथम, अमृत साइन्स क्याम्पसकी मेलिना तामाङले द्वितिय र अमृत साइन्स क्याम्पसकै अनिल दमाई एवम् त्रिचन्द्र क्याम्पसका अलिसा ढुङ्गानाले तृतीय स्थान प्राप्त गरेका छन् । त्यसैगरी वास खुला चित्रकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने क्रमशः आस्था कर्माचार्य (त्रिचन्द्र क्याम्पस), किरण राणा (अमृत साइन्स क्याम्पस) र रोशिका अधिकारी दनुवार (त्रिचन्द्र क्याम्पस) लाई पनि पुरस्कृत गरिएको छ ।
पूर्वमन्त्री गणेश शाहले विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरेका थिए । सहभागी विद्यार्थीहरूलाई उत्प्रेरणा प्रदान गर्दै शाहले युवाहरूले पानी बचावटमा नेतृत्व लिनुपर्ने बताएका छन् । कार्यक्रमका सहभागीहरूलाई इन्जिनियर रामदीप साह, महिला नेतृ कल्याणी शाह, डा. गीता राजभण्डारी, इन्जिनियर रामरोहण पन्त, इन्जिनियर प्रोमिशा मिश्रले जल सम्पदा तथा सरसफाइका विविध पक्षमा अभिमुखीकरण प्रदान गरेका थिए ।
त्यसअघि डा. किशोर राजभण्डारी र उनको टिमले वास ओलम्पियाडको परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गरेको थियो । नक्साल स्थित बृहस्पति विद्या सदनको सभा कक्षमा आयोजित उक्त प्रतिस्पर्धामा विभिन्न कलेजका स्नातक तहका १६१ जना विद्यार्थीहरू सहभागी भएका थिए ।
ग्लोबल पिस फाउण्डेशन, स्मार्ट वास सोलुसन, नेपाल साइन्स ओलम्पियाड, इनभारोन्मेन्ट एण्ड कल्चर भोलुन्टेयर र सेवा नेपाल लगायतका संघ संस्थाहरूको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।