तामाङपेज ३ चैत्र, काठमाडौं। हामी तामाङ जाति हिमालय पर्वतको मध्यवर्ती खण्डको एक प्रमुुुख आदिवासी जाति हौं । हामी तामाङहरुको मुख्य घना आवादी भएको मुलुक नेपाल हो । आधुनिक राज्यहरुको निर्माण हुनु भन्दा पहिले यसक्षेत्रमा तामाङहरुको स्वतन्त्र स्वशासित भू-क्षेत्रहरु थिए। तर आधुनिक राज्यहरुको निर्माणसँगै तामाङहरुको पुर्ख्यौली क्षेत्रहरु बिभिन्न देशहरुमा विभाजित भयो।
काठमाडौं उपत्यकको बुढानिलकण्ठको दक्षिण–पूर्वतिर बानियाँपाखा र पण्डितगाउँको बीचमा रहेको धोवीखोलामा लेलिनग्राद विश्वविद्यालय पुरातत्व विभागका प्रागैतिहासिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ सेतेन्कोबाट भएको उत्खननले मंगोलीयाका गोवी नमूनाका ढुगेउपकरण काठमाडौमा फेलापरेबाट पाषाणयुगीय मंगोलीयनहरू तिब्बत र हिमालय पार गरि नेपाल आइपुगेको र इर्सापूव ३0,000 र्वषभन्दा पहिलेदेखि नै मंगोलहरू काठमाडौं उपत्यकमा आवाद भएको अनुमान गरिएको छ । यसबाट काठमाडौ सबैभन्दा पहिले मंगोलमूलका मानिसहरूकाे बसोवस गरेका थिए र ती मानिसहरू तामाङ नै थिए भन्ने बालियो प्रमाण दिन्छ (१४, शर्मा सं २0३५९ः ३५९–३६४) । धेरै विद्धानहरुले काठमाडौं उपत्यकाको पहिलो बासिन्दा तामाङ हुन् र उपत्यकामा पछि प्रवेश गरेका समुदायहरूसँग पराजित भएपश्चात् तामाङहरू काठमाडौं उपत्यकाको काँठ र वरिपरिको पर्वतीयक्षेत्रमा बसोवास गर्न थालेका हुन् . (वंसिटार्ट, १९०९, करण, १९६०ः ६६, तामाङ १९९१ः, तामाङ सं २०५१) भनेका छन् । अहिले पनि तामाङहरूको घना आवादी यसै क्षेत्रमा रहेको छ । बाहृौं शताब्दीको ऐतिहासिक अभिलेखअनुसार तामाङ जातिको नामसमेत यही क्षेत्र (वर्तमान नेपाल) मा प्रचलित भएको थियो (तामाङ,सं. २०५१) .
साङपोनदी दक्षिण खासगरी केरूङ्ग–कुतीदेखि महाभारत पहाडसम्मको भुभाग आदिकालदेखि तामाङ जातिका मूल थलो हुन्, यसलाई तिब्बती भाषमा माङ्यूल भारतीय भाषामा मिश्रित नेवाबोलीमा सेंषान्त र तामाङ भाषामा ताम्सालिङ (तामाङ भू–क्षेत्र) भनिन्छ । तामाङका बस्तिहरू पातलिदै नेपालदेखि म्यानमार (बर्मा) सम्म फैलिएका छन्।. यस क्षेत्रका आधुनिक राज्यहरूको राजनैतिक सीमा रेखाहरू कोरिएपछि तामाङहरू नेपाल, भारत, भुटान, म्यानमार (बर्मां) र तिब्बत (चीन) आदि देशहरूमा बाँडिएका छन् । त्यसपछि र राणाशासकहरूको दमनविरोधी प्रतिरोध युद्धमा हार भएका कारणले ठूलो संख्यामा तामाङहरु अन्यत्र लागे । वर्तमान अवस्थामा आफ्नो पुर्ख्यौली भूमिबाट विस्थापन, जनसंख्या विस्तार र बसाइँसराई बाह्य सांस्कृतिक अतिक्रमण, भेदभाव, भुमण्डलीकरण, शहरीकरण आदि कारणले तामाङहरू विश्वको विभिन्न कुनामा बढ्दाे मात्रमा फैलिने क्रममा देखिन्छन् । (तामाङ जाति–परशुराम तामाङ)