बागलुङ, २९ फागुन
ढोरपाटन नगरपालिका–९ नवी गाउँका आगलागी पीडित परिवारलाई घर पुनःनिर्माणका लागि पहिलो किस्ता रकम प्रदान गरेको छ ।
गत मङ्सिर ९ गतेको आगलागीले नवीका ३० घर जलेर नष्ट भएका थिए । घटनालगत्तै नगरपालिकाले घर पुनःनिर्माणमा सघाउने प्रतिबद्धता गरेको थियो । तीस घरमा बसोबास गर्दै आएका ४३ परिवारलाई पहिलो किस्तास्वरूप रु २५ हजारका दरले रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । पहिलो किस्ताबाट कूल रु १० लाख ७५ हजार पीडित परिवारमा पुगेको छ ।
नगरपालिकाले प्रतिपरिवारलाई दिने रु एक लाखमध्ये बाँकी रु ७५ हजार दोस्रो किस्तामा प्रदान गरिने नगरप्रमुख देवकुमार नेपालीले बताउनुभयो । नगरको विपद् व्यवस्थापन कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । “तत्काल इञ्जिनीयर पठाएर घर निर्माणको काम शुरु गर्छौं” उहाँले भन्नुभयो, “सबै घर एकै किसिमका बन्नेछन् ।” दुई कोठा र शौचालयसहितका एक तले घर भूकम्प प्रतिरोधी हुने जनाइएको छ । नवीलाई एकीकृत नमूना गाउँका रूपमा विकास गर्ने योजना नगरपालिकाको छ ।
घर पुनःनिर्माणमा ढुङ्गा, काठसहित स्थानीय सीप र प्रविधिको प्रयोग गरिने भएको छ । घर छाउन चाहिने जस्तापाता नगरप्रमुख नेपालीले व्यक्तिगतरूपमा उपलब्ध गराउनुहुने भएको छ । पुनःनिर्माण सकिएपछि हरेक घरमा सौर्यबत्ती राख्ने योजना नगरपालिकाले बनाएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्ने नवी गाउँका बासिन्दा जाडो छल्न अहिले बोबाङमा छन् ।
घर बनाएर आउँदो वर्षाअगावै नवीमा सर्ने योजना रहेको आगलागी पीडितले बताएका छन् । ढोरपाटन उपत्यकामा बसोबास गर्ने स्थानीयवासी मौसमीरूपमा बसाइँसराइ गर्ने गर्छन् । जाडो सकिएपछि अन्नपात र वस्तुभाउ लिएर ढोरपाटन जाने चलन छ । आगलागीपछि राहत र पुनःनिर्माणमा नगरपालिकाले खेलेको भूमिकाप्रति पीडित परिवार खुशी छन् ।
आगलागी पीडित दिलकुमार विकले गाउँलेको दुःख, पीडामा नगरपालिकाले साथ दिएको बताउनुभयो । उहाँले सहयोग रकमको सही सदुपयोग गर्ने उल्लेख गर्नुभयो । आगलागीका कारण नवी गाउँका ४३ परिवारको वाससहित अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको थियो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन ।