पासाङ ल्हामु मार्गको ढलान गर्न सुरु


रसुवा, २२ फागुन

पासाङ ल्हामु मार्गको रसुवा खण्डमा ढलान गर्न सुरु भएको छ । कालोपत्रे नभएको स्थानमा ढलान गर्न थालिएको हो ।

जिल्लाको स्याउबारीदेखि सोलेसम्मको सडक ढलान गरिएको सडक डिभिजन नुवाकोटले जनाएको छ । हिलोमा गाडी फस्ने ठाउँमा ढलान गर्ने कार्य भइरहेको डिभिजन प्रमुख निरज शाक्यले बताए । ‘हिलो गाडी फस्ने समस्या समाधानका लागि काम गरिरहेका छौँ, उनले भने, आउँदो असार मसान्तसम्ममा काम सक्ने योजना छ ।’ यसका लागि १ करोड ३० लाख खर्च हुने छ । ढलान ८ इन्चको छ । सडकमा दुई लाइन ढलान गरिएको छ । एक लाइन ढलान गरुन्जेल अर्को लाइनबाट गाडी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सडकमा ढलान गर्नुका साथै रिटेनिङ वाल लगाउने, उप्किएको पिच टाल्ने लगायतका कामलाई पनि निरन्तरता दिइएको उनको भनाइ छ ।

नाका जोड्ने सडक भएपनि लामो समयसम्म सडकको मर्मत सम्भार नहुँदा सडक जीर्ण बन्दै गएको थियो । २०४२ सालमा सदरमुकाममा पहिलोपटक जीप आएको थियो । त्यसको दुई वर्षपछि स्याफ्रुसम्म सडक निर्माण भएको थियो ।२०६७ सालमा चीन सरकारको सहयोगमा रसुवागढी नाकासम्म सडकले जोडिएको हो ।

एसियाली विकास बैंकको १ अर्ब ५० करोड ऋण सहयोगमा २०७० सालमा स्याफ्रुसम्म कालोपत्रे गरिएको थियो । पिच गर्नका लागि करिब ४ वर्ष लागेको थियो । पहिरो गएको क्षेत्र राम्चे तथा मूलखर्क क्षेत्रमा कालोपत्रे गरिएको थिएन् । बेत्रावतीदेखि राम्चेसम्म रसुवा कन्स्ट्रक्सन र राम्चेदेखि स्यापु्रmबँेसीसम्म कालिका कन्स्ट्रक्सनले पिच गर्ने जिम्मा लिएका थिए ।

यो सडक जिल्ला स्तरीय सडकको वर्गीकरणमा पर्छ । सडक खण्डको राम्चेदेखि रसुवागढीसम्म आधा दर्जन स्थानमा ठूलाठूला पहिरो गएको छ । राम्चे, मूलखर्क, खोपाङ भीर, सानो भार्खु, फ्याङलुङ, घट्टेखोला लगायतका स्थानमा ठूला पहिरो गएको छ भने यही क्षेत्रमा सानातिना पहिरो धेरै क्षेत्रमा गएको छ । २०७१ मंसिरदेखि रसुवागढी नाकामा द्विदेशीय व्यापारिक कारोबार सुरु भएपछि यो सडकको चर्चा देशव्यापी चुलिएको थियो । तर सडकको मर्मत सम्भारको अभावमा चालक, यात्रु र व्यापारी जोखिम पूर्ण यात्रा गर्न बाध्य थिए । सडकको जोखिमलाई मध्यनजर गर्दै सडक स्तरोन्नतिको काम थालिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘सडकको पूर्ण रूपमा स्तरोन्नति हुन सक्ने अवस्था छैन, उनले भने, आउँदो आर्थिक वर्षमा पनि यो कामले निरन्तरता पाउने छ ।’ साँघुरो सडक, पर्याप्त बजेट नआउनु र बैकल्पिक मार्ग नहँुँदा पूर्ण रूपमा स्तरोन्नति गर्न नसकिएको हो, उनले थपे । मैलुङ–स्याफ्रुबेँसी सडक सञ्चालनमा आएपछि यसको पूर्ण रूपमा स्तरोन्नति हुने छ । आवश्यक वजेटका लागि प्रदेश ३ काम मुख्य मन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकारलाई अवगत गराइएको उनले बताए ।

‘२०७० साल पहिले ६ महिना सडक बन्द हुने गरेको रहेछ, उनले भने, सडक सुरक्षाका कारण पनि हाम्रो समन्वयमा काम अघि बढाइएको छ ।’

प्रकाशित: समय: 15:38:18  487पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार