रसुवा , २२ फागुन
रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले मकै खेती गरिरहेका कृषकलाई मकैको विउ वितरण गरेको छ । मकै खेती हुने क्षेत्रमा अरुण २ र रामपुर कम्पोजिट जातको विउ वितरण गरिएको शाखा प्रमुख सम्भु प्रसाद राइले बताए । ‘मकै उत्पादन हुने क्षेत्रका किसानलाई विउ दिएका छौँ, उनले भने, गत वर्ष वितरण गरिएको विउले पनि राम्रो उत्पादन दिएको छ ।
’ गाउँपालिकामा मकै उत्पादन बढाउनका लागि विउ वितरण गरिएको हो । गाउँपालिकाको ४ वटा वडाका कृषकलाई १४ सय केजी मकैको विउ वितरण गरिएको शाखाले जनाएको छ ।
गत वर्ष पनि १४ सय केजी नै विउ वितरण गरिएको थियो । ‘वर्सेनी विउ परिवर्तन गर्न सकेमा उत्पादन राम्रो हुन्छ, उनले भने, यसका लागि प्रचारप्रसार पनि उतिकै आवश्यक छ ।’
कृषकले ५० प्रतिशत अनुदानमा विउ पाएका छन् । प्रत्येक वर्ष विउ परिवर्तन हुँदा उत्पादन बढ्ने र रोग किरा पनि कम लाग्ने शाखाले जनाएको छ । विउ वितरण गर्नुका साथै शाखाले ७५ प्रशित अनुदानमा मकै छोडाउने मेसिन समेत वितरण गरेको छ ।
यो वर्ष १२ वटा मकै छोडाउने मेसिन प्रदान गरिएको हो ।