खादक वा खादा सम्बन्धि भ्रम र वास्तविकता : सरोजमोहन लामा तामाङ


काठमाडौ, १९ फागुन

खादक वा खादा अर्थात पवित्र चीज जिन्लाब (भगवानको प्रसाद) लाई कहिलेकाँही कथित हिरोईन कलाकार भनाउँदाले असम्बन्धित ठाउँमा लगाइ स्कट बनाएर मोडलिङ गरी अपमान गर्ने र विवादमा ल्याएको काम गरिन्छ, देखिन्छ भने कहिले कुनै एक मन्त्रालय र त्यस मातहत ठाउँहरुमा प्रतिबन्ध लगाएर विवाद सिर्जना गरिएको देखिन्छ । हाल एक कार्यक्रममा एक जना पश्चिमतिरको एक नेता हँसिया र हथाैठाको झण्डा मुनि चिच्याएको देखियो ।

त्यसरी आजको दिनसम्म आईपुग्दा खादालाई संस्थागत रुपमा नै प्रयोग नगर्ने भनी बहिष्कार र घोषणा गर्ने दुई संस्थाहरु र उक्त संस्थाको प्रमुखहरु सुन्नमा आएको थियो । उक्त दुई संस्थाको प्रमुख दुई ब्यक्तिको नाम (यहाँ उल्लेख नगरौं) बाहिर सामाजिक सन्जालदेखि सबैतिर सुन्नमा आएको थियो, छ । त्यो एउटा नेपाल भित्रकै चितवन जिल्लाको नेपाली कांग्रेस पार्टीको जिल्ला कमिटी र त्यसको प्रमुख हो भने अर्को नेपाल बाहिर एनआरएनए भन्ने संस्थाको युएई भन्ने देशमा रहेको कमिटी र त्यही कमिटीको प्रमुख ।

त्यसो त त्यो भन्दा अगाडि फाट्टाफुट्ट केही हिन्दु धार्मिक संस्कारबाट हुर्किएका राजनीतिक बामपन्थी पृष्ठभुमिका केहि नेता अनि कार्यकर्ताले सानो स्वरमा सानो सानो कार्यक्रममा वा भेलातिर “खादा लाउनु हुन्न, किनकी यसमा फ्री टिबट लेखिएको हुँदोरहेछ ।” भनेर ब्यक्तिगत रुपमा कुनै कुनै कार्यक्रमतिर खादा लगाउन ईन्कार गरिएको देखिन्थ्यो । उनीहरुले सिधै बहिष्कार भन्न त सकिरहेको थिएन तर बहिष्कार जस्तै गरेको देख्न र सुन्नमा आएको थियो ।

त्यस्तै गरि कुनै समय नेपाल सरकार (सचिब स्तरकै) मिति :२०७३/०३/२० गतेको निर्णयले संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालय र त्यस मातहतका सबै निकायमा प्रतिबन्ध भनी सर्कुलर जारी गरिएको देखियो , त्यो दुखत कुरो थियो । मुलुक धर्म निरपेक्ष राज्य भईसकेको बेलामा नयाँ संविधानमानै उक्त कुरा उल्लेख भई जारी र कार्यान्वयनको चरणमा रहेको अवस्थामा यो मुलुकमा सयौँदेखि एक जातिले एक धर्म, भाषा, संस्कृति, भेष आदिलाई प्रश्रय दिई उसैकै मात्र धर्म, भाषा, संस्कृति, भेष आदि लादी रहेका थिए । त्यसैको धङधङगी अहिले पनि बाँकी रहेका छन् ।

नेपाल सरकारको प्रायजसो निजामति कर्मचारीहरुमा जसले मुलुकै भरी खादालाई प्रतिबन्ध लगाउनु पर्छ भन्ने मान्यता राख्दछन् अहिले पनि । सायद त्यस्तैहरुको लहैलहैमा नै त्यो बेला दशैभर खादालाई प्रतिबन्ध नभनी सिमित एक मन्त्रालय र त्यस मातहतका कार्यालयहरुमा मात्रै पहिलो चोटी प्रतिबन्ध भनी नमुना परिक्षण गरेको हुनसक्छ । यस्ताहरुको भोलि देशैभर प्रतिबन्ध लगाउने नियत पनि लुकेको हुनसक्छ । तर त्यो संभव छैन र भएन । पछि उक्त निर्णय सच्याईयो । त्यस्तै गरि सिन्धुपाल्चोक  जिल्लाको एउटा गाउँपालिकाको एक जना वडाअध्यक्षले पनि त्यस्तै गरेर पछि माफी मागेर निर्णय सच्याईयो । हाल एक जना नेकपाका नेता चिच्याएको देखियो । उहाँमा अझै भ्रम रहेछ ।

प्रश्न उठछ कि राष्ट्रियताको अनि स्वदेशी निर्माण आदि के त्यसो भए सिन्दुरपोते , हामीले प्रयोग गर्ने फूलै पनि सबै नेपालमै उत्पादन भएको हो त ? त्यतातिर बहस पछि गरुला । त्यसो त के हो त खादक वा खादाको बास्तविक अर्थ ? यसको प्रयोग र शुरुवात कहाँबाट भयो त ? बौद्घ धर्मसँग यसको साईनो के छ ? यसको प्रयोग गरेमा के के धार्मिक एवं आध्यात्मिक फाईदा र विश्वहरु छन् हुन्छन् आदि कुराको ज्ञान नभएर पनि खादा सम्बन्धमा विवाद, बहस र भ्रम फैलिएको देखिन्छ ।

खादक वा खादा भनेको के हो ? 

खादा अर्थात बौद्घ धर्मलम्बीहरुले हरेक शुभ कार्य तथा जन्म देखि मृत्य संस्कारसम्म उपयोग गर्ने पवित्र मानिने एउटा लगाउने लुगा जातिको बस्त्र हो । जुन नेपाली गलबन्दी जसरी मानिसको गलामा लाईन्छ ।

खादा मानिसको जन्म, ब्रतबन्ध, विवाह, मृत्य लगाएत हरेक पूजाआजा, भेटघाटमा स्वागत, विदाई आदि संस्कारहरुमा उपयोग हुने प्रयोग गरिने वस्त्र र विशेषत बौद्घ धार्मिक आस्थाको पवित्र चीज भएको हुनाले यसलाई बौद्घधर्मलम्बीहरुले भगवानको जिन्लाब (प्रसाद) पनि भनिन्छ ।

यति मात्रै नभएर आजकल हरेक समुदायहरु के बौद्घ, के हिन्दु, के क्रिस्चीयन, के मुसलमान सबै धार्मिक एवं सामाजिक समुदायहरुले खादाको निकै नै उपयोग गरेको पाईन्छ । यसरी हेर्दा यसको प्रयोग फूलको मालाको पर्यावाची वा सट्टामा प्रयोग भएको जस्तो पाईन्छ । फुलका मालाहरु बाह्रैकाल, बाह्रै महिना नपाईएकाले पनि यसको प्रयोग धेरै भएको हामीले अनुमान लगाउन सकिन्छ । यदि फुल बाह्रैकाल, बाह्रै महिना पाईन्छ भने यसको प्रयोग स्वभाविक रुपमा त्यति नहुन पनि सकिन्थ्यो होला । फेरि खादालाई जबरजस्ती कसैले कसैलाई कसैले पनि कहिल्यै पहिर्याउनु पर्छ भनि भनिएको छैन । तर पनि आपसेआप स्तहःस्पुर्त ढंगले यसको प्रयोग विभिन्न धार्मिक तथा सामाजिक समुदायहरुमा देश विदेश सबै ठाउँमा खादाको उपयोग हुदै गएको देखिन्छ ।

खादाको प्रयोग र शुरुवात कहाँबाट भयो त ?

खादा प्रयोगको इतिहासलाई केलाउदै जाँदा यसको सुरुवात यही समय र स्थानबाट भयो भन्ने लिखित इतिहास पाउन कठीन छ । त्यस्तो भएता पनि यसको प्रयोग प्राचिन काल देखिनै तिब्बतबाट भएको अनुमान लगाउन सकिन्छ । किनभने फुलको प्रयोगको बिकल्पको रूपमा उक्त स्थान हिमाली ठाउँ हिउँ पर्ने स्थान भएकोले सो ठाउँमा हिउँले गर्दा बार्‍हैकाल फुल नफुल्ने वा फुल नहुने र फुल नपाउने थियो, अहिले पनि पाउदैन बार्‍हैकाल । त्यसैले सुरुमा यसको प्रयोग बोट बिरुवाको रेशाबाट भनेको सेतो रङको पातलो जाली जस्तो वस्त्रको रूपमा खादा प्रचलनमा ल्याईएको थियो भनेर सुन्न र भनेको भनाईहरु पाईन्छ, अग्रजहरुको । त्यो सत्यताको नजिक पनि छ । तर समय र प्रविधिको विकाससँगै यसको पनि क्रमशः विकास र विस्तार हुदै आजको अवस्थामा विभिन्न पञ्चरङ्गी बस्त्र खादाहरुको नामले हाम्रो बजारसम्म आईपुगेका छन् ।

खादाको धार्मिक अर्थ

खादालाई भगवान गौतम बुद्धको न्हाम्सा अर्थात वस्त्रको रुपमा लिईन्छ । सामान्यतया सबै प्रकारका खादाहरुमा अष्ट मंगलमको चित्र र सम्भोटा लिपीमा केही मन्त्रहरु÷कुराहरु लेखिएको हुन्छन् । जस्तो सम्भोटा लिपीमा “टाशी देलेक फुन्सुम छ्योक” लेखिएको हुन्छ, जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस” भन्ने हो । त्यससँगै खादामा अरु विभिन्न सम्भोटा अक्षरका वाक्यांशहरु पनि उल्लेख गरिएका हुन्छन् । सम्भोटा लिपीमा “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ” जसको अर्थ “दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस्” भन्ने हो । त्यस्तै “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग” जसको अर्थ “दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस” भन्ने हो । अनि “पोन्लोप मिडल ल्हेन्चीघ ढोघ, कुछे मिग्युर स्रा सिङ तेन्ङा, स्हाङ्से टोग्युन मिछेकी ला छ्योइफेल टाशी श्योग” जसको अर्थ “गुरु (मन्त्री) मण्डल र हामी बीच केही गडबडी नभई सधै मित्रता र साथ रही रहोस्, आयु र शरीर कहिल्यै नष्ट नहोस्, बलियो एवम् अटल होस, राम्रो होस, हृदय देखि नै कर्म गर्न मन लागिरहोस, अनन्त सम्म सुख, शान्ति, धर्म फैलिएर जाओस” भन्ने हो ।

त्यसैगरी खादामा अष्ट मंगलमको चित्र पनि छापिएको हुन्छ । जसको अर्थ निम्नप्रकारका हुन्छन् ।

१. धुक (ह्रिन्छेन धुक) यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।

२. माछा अर्थात सुनको माछा (सेर्गी ङ्या) यसको अर्थ शुभको प्रतीक हुन्छ ।

३. भुम्बा अर्थात कलश (घोइम्युङ) यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हुने ।

४. कमल (इहोङ कमल) यसको अर्थ हृदय आनन्दित पार्ने ।

५. शङ्ख (ङ्यान्डक धुङ) यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको ध्वनी वा आवाज ।

६. स्वस्तिक चिन्ह (पल्बेहु) ल्भखभच भ्लम ीयखभ अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।

७. छाता, ओत, छाना (घ्याल्छेन) यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने ।

८. धर्मचक्र÷खोर्लाे (वाङ्ग्युर) यसको अर्थ शक्ति फैलाउने । भन्ने हो ।

त्यस्तै खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ हुन्छ । जसको अर्थ बौद्घ धर्म अनुसार सामान्यतय निम्न हुन्छन् ।

१. निलो . आकाश

२. पहेँलो . जमीन/माटो

३. रातो . अग्नी

४. सेतो . बादल

५. हरियो . जङ्गल

माथि उल्लेखित रंगहरुकै प्रतिकको रुपमा बौद्घ धर्मको झण्डा बनेको हुन्छ । जसको सांकेतिक अर्थ पृथ्वी र आकाश गंगामा आगो, बादल, पानी, जमिन माटो, आकाश, जंगल हुन्छ त्यसको सधै हामीले संरक्षण, सम्बर्धन, प्रबर्धन र माया गर्नुपर्छ भन्ने हो । त्यसैको प्रतिक र सांकेतिक अर्थ आउन भनेर खादाको निर्माण गरिएको हो । सबै मानव जाति र जगतको भलो होस्, सुख र समृद्घी होस् भनेर खादाको आविस्कार भएको हो ।

त्यसोत नेपाल एउटा बुद्घ र बौद्ध धर्मको महत्वपूर्ण ठाउँ हो । नेपालको भूगोलमा भगवान गौतम बुद्ध जन्मिनुको साथै उहाँले बुद्घत्व प्राप्त गर्ने ठाउँहरुको संगमहरु स्थानहरु धेरै छन् । जस्तो काक्रे विहार, लुम्बनी, काठमाण्डौ, नमोबुद्घ, तेमाल, शैलुङ, हलेसी आदि ठाउँहरु बुद्घले बुद्घत्व प्राप्त गरेको ठाउँहरु हुन । नेपाल देशमा सबै जनताहरु सयौदेखि धार्मिक सहिष्णुता कायम गरी बसिरहेका छन् । तर विभिन्न समयमा जबर्जस्ती रुपमा खादा सम्बन्धी विवाद, वाईयात बहस, भ्रम तथा नकारात्मक कुराहरु फैलाउने दुष्प्रयास भईरहेका छन् । यस्तो हुनुमा अल्पज्ञान र सह अस्तित्वको भावनालाई स्वीकार गर्न नसक्नु धार्मिक अहंकारवादी सोच प्रमुख कारक हो । यसमा केही हदसम्म सम्बन्धित सरोकारवाला पक्षले खादाको महत्व, यसमा लेखिएको अक्षरहरुको अर्थ, चित्रहरुको अर्थहरुलाई धार्मिक, आध्यात्मिक र व्यावहारिक रुपमा स्पष्ट नपारेको कारणले पनि बेला बेलामा यस्तो विवाद, वाईयात बहस र भ्रम भएको हो ।

अन्तमा

खदक वा खादामा अंकित कुँदिएको वा छापेको ८ वटा चित्रको वा चिन्हको अर्थ छोटकारीमा निम्न लिखित प्रतिकको संकेत गर्द्छ । जसलाई नेपाली साराले बुझ्ने भाषामा यसलाई अष्टमंगल भनेर बुझिन्छ र भनिन्छ । जसमा आठ चित्रको नाम र अर्थ यस प्रकार छ ।

१) छाता (शिर२) बिजयध्वजा (शरिर) ३ माछा ( आँखा ४) कलश ( घाँटी ५) कमलको फुल ( जिब्रो ६) श्रीवत्स ( छाती ७) शंख ( ध्वनी, स्वर ८) चक्र ( पैदला, भनेर बुझिन्छ । यी सबै चिन्ह वा प्रतिकले बुद्ध भगवानको पुरा शरिरलाई जनाउँदछ भन्ने बिश्वास छ ।

आदिम कालमा यो खादा सेतो रंगको प्रयोग भैइ आएको थियो भने अहिले यसलाई हामी पांच रंगमा पाउन सक्छौं । जुन पांच रंग हामीले प्रयोग गर्दै आएको धार्जे (लुङ्ग्दर) अथवा एचबथभच ँबिन मा पाउन सकिन्छ । जसलाई यसरी परिभाषित गरिएको छ १) सेतो पवित्र, २) पहेलो प्रगति, ३) रातो शक्ति, ४) निलो शान्ति, ५) हरियो शौभाग्य भनिन्छ ।

यति मात्र होइन पाँच रंगले पञ्च तत्वलाई पनि जनाउँदछ । बौद्ध मार्गीहरुले यसलाई खाम भन्न गरिन्छ र जसलाई यसरी परिभाषित गरि ब्याख्या गरिन्छ । १) सेतो ( धातु (फलाम) तत्व २) पहेलो( पृथ्बी (माटो) तत्व ३) रातो ( अग्नि (आगो) तत्व ४) निलो ( जल (पानी) तत्व ५) हरियो ( रुख (काठ) तत्व ।

यति मात्र होइन बुद्ध जन्मेको देश नेपाल एउटा पवित्र भुमि हो, यस भूमिमा पन्चकन्या जस्तै पन्चबुद्ध (ध्यानिबुद्ध) भनेर चिनिन्छ र जुन यस पांच रंगसंग सम्बन्धित पनि छ । १) सेतो ( भाइरोचना बुद्ध २) पहेलो ( रत्न सम्भव ३) रातो ( अमिताब बुद्ध ४) निलो अक्शोभया बुद्ध ५) हरियो अमोगसिद्दि बुद्ध ।

अझ सारंशमा भन्दा यो खतक (खादा) किन हामी बौद्धमार्गी वा जसले यस पबित्र खादालाई शुभ कार्यमा या मृत्यु संस्कारमा समेत प्रयोग गरिन्छ जुन सधै पबित्र भईरहन्छ जसलाई फेरी(फेरी प्रयोग गर्न सकिन्छ ।

अर्थात पवित्र चीज जिन्लाब (भगवानको प्रसाद) रुपी एक बस्त्र हो । खादालाई भगवान गौतम बुद्धको न्हाम्सा अर्थात वस्त्रको रुपमा लिईन्छ । खादा अर्थात बौद्घ धर्मलम्बीहरुले हरेक शुभ कार्य तथा जन्म देखि मृत्य संस्कारसम्म उपयोग गर्ने पवित्र मानिने एउटा लगाउने लुगा जातीको बस्त्र हो । विशेषत खादा बौद्घ धार्मिक आस्थाको पवित्र चीज भएको हुनाले यसलाई बौद्घधर्मलम्बीहरुले भगवानको जिन्लाब (प्रसाद) रुपमा पनि लिईन्छ । यसको प्रयोग बौद्घ धर्मलम्बीहरुले मात्र नभई जुनसुकै वर्ग, समुदाय, धर्म, जातजातिहरुले प्रयोग गर्न सकिन्छ । किनभने खादामा कुनै धर्म वा समुदाय विशेषको वर्णन गरिएको नभई समग्र प्राणीको हितको लागि शुभ वाक्यांशहरु लेखिएको हुन्छ । बाताबरणीय दृष्टिकोणले मात्र हेरेर, नेपालमा नभई अन्तै बनेको भनेर व्यापारको दृष्टिले मात्र हेरर, खादामा लेखिएको लिपीलाई मात्र हेरेर अनुमानको भरमा विभिन्न आक्षेपहरु लगाउनु वा लगाइनु अल्पज्ञानको उपज मात्र हो भन्न सकिन्छ ।

श्रोत र श्रोत व्यक्तिहरु:

( विभिन्न सामाजिक संजालहरु, विभिन्न पत्रपत्रिकाहरु, बौद्घ धर्म र खादा सम्बन्धि विभिन्न रचनाहरु, थुप्तेन लामा, पेमा लामा, नाम्गेल टाशी लामा, कुशुम लामा, चिनीय लामा, धावा साङ लामा, नारायण लामा, प्रेम लामा, आदिको सहयोगमा तयार पारिएको । )

लेखक: सरोजमोहन लामा तामाङ

साबिक घ्याङसुकाठोकर–५, मेलुङ(३ दोलखा,उर्लिनी )

हाल: काठमाण्डौ

प्रकाशित: समय: 4:20:42  1288पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार