काठमाडौंको कपनस्थित माउन्ट एभरेष्ट इंग्लिस स्कुलमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्र कुमार यादवले शिविरको उद्घाटन गरे । राज्यमन्त्री यादवले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकोमा आयोजकलाई धन्यवाद दिँदै देशका विकट क्षेत्रमा यस्ता शिविर संचालन गर्न सुझाव दिए ।
अनेरास्ववियू त्रिवि राष्ट्रिय कमिटीका सहसचिव भुवन आचार्यको पहलमा शिविर संचालन गरिएको हो । सेवा नै धर्म हो भन्ने उद्देश्यले शिविर संचालन गरिएको आयोजकले जानकारी दिएको छ ।
शिविरमा एक हजार भन्दा बढीको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी शिविरमा आचार्यको व्यक्तिगत पहलमा दश लाख रुपैयाँ बराबरको औषधिसमेत वितरण गरिएको थियो ।
आचार्य राजनीतिका साथै समाजसेवामा पनि सक्रिय भएका छन् । १६ वर्षदेखि अखिलको कमिटीमा कुशलतापूर्वक जिम्मेवारी सम्हाल्दै आएका आचार्यले दर्जनौं स्थानमा यस्ता शिविर आयोजना गरिसकेका छन् ।
गत महिना उनकै पहलमा रसुवाको गोसाइँकुण्डमा पनि स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।