जिल्ला भूमि अधिकार मञ्चको चौथो सम्मेलन सम्पन्न


तामाङपेज,४ फाल्गुन

जिल्ला भूमि अधिकार मञ्च, रसुवाको चौथो जिल्ला सम्मेलन आज भूमिघर कालिकास्थानमा सम्पन्न भयो ।

विक्रम् सम्वत् २०६२ सालमा गठन भएको मञ्चको तेस्रो कार्यकाल पुरा भई चौथो कार्यकालको लागि मञ्चको सम्मेलनल २०७५ साल फागुन ४ गते कालिका गाउँपालिका वडा नं. २ मा रहेको भूमिघरमा भयो । मञ्चको सम्मेलनले १५ सदस्यीय रहेको नयाँ कार्य समिति चयन गरेको छ । सम्मेलनको उद्घाटन राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका महासचिव सरस्वती सुव्वालगायत उपस्थित अथितिले गर्नुभयो । उहाँले मञ्चको चौथो सम्मेलनको व्यानर पढी भूमि अधिकार मञ्चका अग्रज स्व.बलदेव राम र किसान आन्दोलनको नेता स्व.भिमदत्त पन्तको तस्विरमा माल्यार्पण गरी गरिएको थियो ।

मञ्चको सम्मेलनमा गाउँ भूमि अधिकार मञ्चका प्रतिनिधि तथा पर्यवेक्षक, जिल्ला मञ्चका पदाधिकारी तथा मञ्चको अभियानलाई सहयोग गर्ने अतिथिहरू र राष्ट्रिय भूमि अधिकार मञ्चका प्रतिनिधिसमेत जम्मा ७५ (महिला ३९, पुरुष ३६, दलित ८, जनजाति २९ र ब्राम्हण÷क्षेत्री ३८) सहभागी भएका थिए ।

जिल्ला भूमि अधिकार मञ्च, रसुवाको सम्मेलनमा अध्यक्षता मञ्चका अध्यक्ष टंकलबहादुर नगरकोटीले गर्नुभएको थियो भने प्रमुख अतिथि मञ्चका केन्द्रीय महासचिव सरस्वती सुव्बा रहनुभएको थियो । विशेष अतिथिमा मञ्चका केन्द्रीय सदस्य एवम् प्रदेश नं. ३ का अध्यक्ष रमेश देवकोटा, कालिका गाउँपालिकाका उपाध्यक्ष एवम् मञ्चका पूर्व जिल्ला अध्यक्ष भवानीप्रसाद न्यौपाने र अतिथिमा मञ्चका पूर्व अध्यक्ष एवम् जिल्ला समन्वय समिति रसुवाका सदस्य चित्रकुमारी न्यौपाने, कालिका गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पुष्पराज न्यौपाने, वडा नं. २ का कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपाने रहनुभएको थियो ।सम्मेलनमा मञ्चको प्रगती तथा आर्थिक प्रतिवेदन प्रस्तुतीकरण गरी त्यसमा छलफल गरी पारित गरिएको छ ।

जिल्ला मञ्चको सम्मेलनले हेमनाथ खतिवडाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । मञ्चको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश ः टंकलबहादुर नगरकोटी, सुष्मा न्यौपाने, भुवनेश्वरी लामिछाने र गोपिनी परिवार चयन भएका छन् भने सदस्यहरूमा पुतली तामाङ, शान्ताकुमारी गलान, खिलप्रसाद आचार्य, खड्गमाया न्यौपाने, मुरली नेपाली, कार्साङतेम्पा तामाङ, रमा भट्ट, श्याममाया घलेनी र मोहनप्रसाद ढकाल चयन भएका छन् । रसुवा जिल्लामा रहेको बिर्ता, गुठी, भूमिहीन सुकुमबासी र विस्थापित परिवारको लागि भूमि अधिकारको सुनिश्चितता गर्नको लागि राज्यसँग वकालतिय अभियान जिल्ला मञ्चले गरिरहेको छ । मञ्चमा २२ गाउँ भूमि अधिकार मञ्चमार्फत ६११ परिवार सङ्गठित भएका छन् । मञ्चको अभियानको सफलतास्वरुप १७० परिवार बिर्ता पीडित किसानले १५ सय रोपनी बिर्ता जग्गाको लालपुर्जा लिएका छन् । यसबाट ५०० बढी परिवार लाभान्वित भएका छन् । १३२ गुठी पीडित परिवारले मोही पुर्जा लिएका छन्, यसले उनीहरूले आफ्नो जोतभोग र बसोबास गर्दै आइरहेको जमिनको स्वामित्व लिनको लागि सहज हुनेछ । मञ्चले आफ्नै भूमिघर निर्माण गरी कार्यालय सञ्चालन गरिरहेको छ भने भूमिघरमा तालिम केन्द्र पनि सञ्चालन गरी यसमार्फत आन्दोलन कोष वृद्धि गर्न सहयोग पुगिरहेको छ । भूमि अधिकार मञ्चले संयुक्त लालपुर्जा निर्माणको अभियान पनि अघि बढाई जिल्लामा हालसम्म ६०० भन्दा बढी परिवारले संयुक्त लालपुर्जा निर्माण गरी भूमिमा महिला र पुरुषको समान स्वामित्व कायम गराएका छन् । यस्तै पछिल्लो समयमा मञ्चले भूकम्प पीडित परिवार, भूमिहीन परिवार र विस्थापित परिवारको पनि पुनर्निर्माणको अभियानमार्फत पुनर्निर्माण र पुनस्र्थापनामा अभियानको लागि वकालतीय अभियानमार्फत समस्यामा परेका परिवारलाई सहयोग गर्नको लागि अभियान गरिरहेको छ ।

जिल्ला भूमि अधिकार मञ्चको यस अवधिमा ४६ लाख ९६ हजार ११२ रुपियाँको कारोबार भएको प्रतिवेदन प्रस्तुती गरिएको थियो । हाल मञ्चमा १५ लाख ८३ हजार ३६९ रुपियाँ कोषमा रहेको छ । मञ्चले अभियानको लागि कोष अभिवृद्धिको लागि भूमिघर तालिम केन्द्र सञ्चालन गरेको छ, विभिन्न समयमा चन्दा सङ्कलन, आन्दोलन कोष, कोष बाकस मार्फत रकम सङ्कलन र विभिन्न संस्थाद्धारा सहयोग भएको कार्यक्रममा मञ्चका टिम परिचालन भई बचत गरिएको रकमबाट मञ्चको कोष वृद्धि हुँदै गएको प्रस्तुतीकरण गरिएको थियो ।

सम्मेलनमा सहभागी हुँदै प्रमुख अतिथिको रुपमा मञ्चका केन्द्रीय महासचिव सरस्वती सुब्बाले भन्नुभयो, भूमि अधिकारबाट वञ्चित लाखौं परिवारले भूमि अधिकार अभियानसँग ठूलो आशा र भरोसा राखेका छन, त्यसैले गाउँ तहदेखि नै सङ्गठनहरू बलियो बनाएर भूमि अधिकार प्राप्तीको आन्दोलनलाई शसक्त बनाउन आवश्यक छ । उहाँले भन्नुभयो, अहिले देशमा विभिन्न कानुन तथा ऐनहरू निर्माण भइरहेको छ, यस सन्दर्भमा विभिन्न सरोकारवाला निकायमार्फत राज्यलाई दवाव दिनु आवश्यक छ । सम्मेलनमा सहभागी कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले भन्नुभयो, मञ्चले जिल्लामा भूमिहीन, बिर्ता तथा गुठी पीडित किसान र भूकम्प पीडित परिवारको लागि पनि ठूलो सहयोगको काम गर्दै अघि बढेको छ । आन्दोलनकै फलस्वरुप कतिपय बिर्ता पीडितले जमिनको अधिकार पाए । विस्थापित बस्तीको पुनर्वासको प्रक्रिया अघि बढेको छ, यो ठूलो उपलब्धी हो । यही उपलब्धीलाई टेकेर भविष्यमा पनि मञ्चले मञ्चसँग आशा राख्ने र समस्यामा परेका किसानहरूलाई सहयोग गर्नु आवश्यक छ ।

प्रकाशित: समय: 15:37:30  429पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार