भवितव्य


तामाङपेज , २० माघ :
अतित मुखिया ( ईश्वर किरण सुनुवार )

भाको बारीको पाटो बेचेर
पुर्ख्यौली आफ्नो माटो बेचेर
तिमि गएथ्यौ
सम्पन्न मरुभुमिमा
सुनका बालुवा सोहर्न ।

स्वपनिल रेखामा विभाजित भै
आपसमा पृथक हुँदा पनि
समानंतर रेखामा उभिएर
समान नियति भोगी नै रह्यौ।

यता म चिमाल फुल्दा पनि
हिमाल खुल्दापनि
केवल अनिकाल नै व्यहोरीरहे
उता तिमि
कहरका कचिया टेक्दाटेक्दै
जिन्दगी संगै हारेछौ
भवितव्य अगाल्दै
आफुले आफैलाई मारेछौ ।

बिना धुरी बिना छानो
एलानितिर अगेना थाप्न
कुन ढुंगाका चुलोचौका गाडुँ म ?
भोकै भकारी बाधेर
कुन सामल तुमलले छोरा छोरी पालु म?

हे प्यारा नानीका बा
तिम्रो लास ढाक्ने कात्रॊको रुपमा
म संग अब
यहि अर्धनो फरिया सिवाय केहि छैन
मेरो स्वामी तिमि नै भन
म आफ्नो लाज ढाकु
वा
तिम्रो लास ढाकु ?

प्रकाशित: समय: 8:31:15  574पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार