तामाङ सुन्दरीमा कुसुम


तामाङपेज, १३ माघ

राष्ट्रिय गानको एक अंश ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल’ ले के पुष्टि गर्छ भन्ने प्रश्नको उत्तरले निर्णायकको मन जित्तै पोखरा बिरौटाकी कुसुम तामाङले ‘तामाङ सुन्दरी पोखरा’को उपाधि जित्न सफल हुनुभएको छ ।
उहाँलाई प्रमुख निर्णायक पाइलट विजय लामाले प्रश्न सोध्नुभएको थियो । विजेता कुसुम यससँगै उत्कृष्ट व्यक्तित्व उपाधि पनि हात पार्न सफल हुनुभयो । उहाँले रु ५० हजार, ताज, ट्रफी र प्रमाणपत्रका साथै म्युजिक भिडियोमा अभिनयको अवसर पनि प्राप्त गर्नुभएको छ । त्यसैगरी नालामुखकी प्रीति तामाङले उत्कृष्ट आत्मविश्वासी उपाधिसँगै ‘फस्ट रनरअप’ भएर रु ३० हजार सहित ताज, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

रामेछापकी सजना वाइवा उत्कृष्ट प्रतिभा उपाधिसँगै ‘सेकेण्ड रनरअप’ बन्न सफल हुनुभयो । उहाँले रु २० हजार, ताज, ट्रफी र प्रमाणपत्र हात पार्नुभयो । लामागाउँकी श्वेता पाख्रिनले लोकप्रिय उपाधिसँगै ‘भ्युवर्स च्वाइस अवार्ड’(दर्शक छनोट सम्मान)वापत रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा देशभरबाट तामाङ समुदायका १४ युवती सहभागी थिए । बैदाम तामाङ समाज पोखराको आयोजनामा २८५५ औँ सोनाम ल्होसारका अवसरमा आयोजित ल्होसार सङ्गीत उत्सव तथा तामाङ सुन्दरीका निर्णायकमा कलाकार विजय लामा, नेपालका पहिलो अन्तरराष्ट्रिय मोडल कोरियोग्राफर प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सहप्र्रशासकीय अधिकृत रजनी केसी, तामाङ सुन्दरीका संयोजक रञ्जिता लामा र गायक–सङ्गीतकार श्यामसुङ तामाङ रहनुभएको थियो ।
–––

प्रकाशित: समय: 12:33:57  494पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार