तामाङपेज ११ माघ :
नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो ।
करिव पाच वर्ष अगाडी राष्ट्रिय खेलकुद परिषदले ३० लाख को लगानी गरि मिनी कभर्ड हलहरुको को निर्माण गरिएको थियो । उक्त परासीमा खेलाडीहरुको आकर्षण बढेपछि कभर्ड हलहरुको व्यवस्थित् तरिकाले निर्माण गरिएको छ । कभर्ड हल नहुदा खुल्ला ठाउमा खेल्ने खेलाडी हरु अहिले हल भित्रै खेल्न थालेका छन् ।
स्थानीय खेलाडीको सक्रियतामा रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला खेलकूद विकास समिति, विभिन्न सङ्घ संस्था, स्थानीय उद्योगी, शुभचिन्तक तथा खेलाडी पनि रकम उठाएर रु ८५ लाखको लागतमा कभर्डहल बनाउन सफल भएको रामग्राम ब्याडमिन्टन क्लब परासीका अध्यक्ष मेघराज गौतमले जानकारी दिनुभयो ।
कभर्डहलको सोही क्लबले व्यवस्थापन गर्दै आएको छ । कभर्डहल तयार भएपछि दिनप्रतिदिन नवआगन्तुक खेलाडी पनि ब्याडमिन्टन खेलमा आकर्षित भएको गौतमले बताउनुभयो । उहाँका अनुसार शुरुमा १५ खेलाडी रहेकामा अहिले दैनिक १०० खेलाडी खेल्ने गरेका छन् । क्लबमा ४७ खेलाडी आजीवन सदस्य छन् ।
खेलाडी आफैले मासिक रकम सङ्कलन गरी कभर्डहलको व्यवस्थापन गर्दै आएका छन् । कभर्डहलमा अहिले तीन कोर्ट निर्माण भएका छन् भने दुईमा काठको प्रयोग गरी पार्केटिङ गरिएको छ । कभर्डहल निर्माणका लागि समाजसेवी ध्रुवबहादुर प्रधानले एक कठ्ठा जग्गा प्रदान गर्नुभएको थियो भने खेलाडीलाई हौसला बढाउन व्यायामका सामग्रीसमेत क्लबलाई सहयोग गर्नुभएको थियो ।