तामाङपेज, २४ पुस
सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन् । सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले शिक्षक भर्ना गरिसकेका छन् भने पाल्हीनन्दन गाउँपालिकाले भर्नाका लागि दरखास्त आह्वान गरेको छ । रामग्राम नगरपालिकाले शिक्षक भर्नाका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ ।
शिक्षक अभाव भएपछि सुस्ता गाउँपालिकाले २० शिक्षकलाई करारमा भर्ना गरेको छ । विद्यार्थी सङ्ख्याअनुसार शिक्षक नहुँदा अध्यापन कार्य प्रभावित भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँ भन्नुहुन्छ, निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई समस्या भएको छ, पठनपाठन सहज बनाउन शिक्षक भर्ना गरिएको हो ।
प्रतापपुर गाउँपालिकाले शिक्षा अनुदान कोटाबाट मिलान गर्ने गरी तीन शिक्षक करारमा भर्ना गरेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले जानकारी दिनुभयो । पाल्हीनन्दन गाउँपालिकाले १२ स्वयंसेवक शिक्षक करारमा भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । रामग्राम नगरपालिकाले करारमा स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरिरहेको नगरपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिनुभयो ।
नेपालको संविधानले विद्यालयको अनुमति, नवीकरण, त्यसको स्थानान्तरण, व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठनलगायत स्थानीय तहको समग्र नीति योजना कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गराउने, अनौपचारिक शिक्षाका काम, पूर्वप्राथमिक बालविकास केन्द्रको सञ्चालन, निरक्षरता उन्मूलनलगायतका काम स्थानीय तहले गर्न पाउने गरी अधिकार दिएको छ ।