तामाङपेज, १८ पुस
जिल्लाको बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका ३३ सामुदायिक विद्यालयका एक हजार ९४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
चार वर्षदेखि बुढीगङ्गा नगरपालिकाभित्रका छ वडा र खप्तड छेडेदह गाउँपालिकाका ७ वडाका अतिविपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक र जुत्ता वितरण गरिँदै आएको छ । खप्तड छेडेदह गाउँपालिका–३ का वडाध्यक्ष दीपक रावतका अनुसार वडा कार्यालयको सिफारिशमा विद्यार्थीलाई सामग्री वितरण गरिँदै आएको हो ।
वर्षभरि पुग्ने शैक्षिक सामग्री र न्यानो लुगा उपलब्ध गराउँदै आएका छौँ उहाँले भन्नुभयो, न्यानो लुगा नहुँदा विद्यालय आउनेको सङ्ख्यामा कमी आएको थियो, अहिले नियमित आउन थालेका छन् ।
मालिका मावि गाँजराका शिक्षक राजेन्द्र सिंह १५० विपन्न विद्यार्थीले सहयोग पाउने गरेको बताउनुहुन्छ । विद्यार्थीलाई वार्षिक तीन पटक अनिवार्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको छ । भानुदय माविका प्राचार्य मनवीर खाती कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको बताउनुहुन्छ । जिल्लाका ३३ विद्यालयलाई सहयोग गरिँदै आएको गुड नेवर्स इण्टरनेशनलका जिल्ला संयोजक खड्क बोहराले बताउभुयो ।