धरान । कुकुर वर्गको बिदाइ गर्दै मृग वर्गको स्वागतमा तमू समुदायले ल्होसार मनाएका छन् ।
ल्होको अर्थ वर्ग हुन्छ भने सारको अर्थ सार्नु भन्ने लाग्छ । एउटा वर्गबाट अर्को वर्गमा सार्ने प्रक्रियालाई नै ल्होसार भनिन्छ । एउटा वर्गको चक्रीय अवस्था पूरा भई अर्को चक्रमा प्रवेशको अवसरमा नया वर्ष अथवा सम्वत मनाउने गरिएको छ । आइतबार (आज) देशभर नै तमु ल्होसार मनाइएको छ ।
यसक्रममा धरान–१८ मा नेपाल बौद्ध गुम्बाले सांस्कृतिक कार्यक्रम गर्दै तमु ल्होसार मनाएको छ । ल्होसारको अवसरमा विविध मनोरञ्जनात्मक कार्यक्रम साथै सांस्कृतिक कार्यक्रम गरिएको छ । यसक्रममा गुम्बाका संरक्षक एवम् गुम्बाको भान्सा घर निर्माणमा ७ लाख रूपैया सहयोग गर्ने दाता ताराबहादुर गुरूङ र हरिबहादुर गुरूङलाई सम्मानित गरिएको छ ।
हरिबहादुरले भान्सा घर निर्माणमा ३ लाख रुपैया सहयोग गरेको अध्यक्ष पृथ्वीमान गुरूङले जानकारी दिए । त्यस्तै गुम्बाका आजीवन सदस्यहरूलाई प्रमाण पत्रसमेत वितरण गरिएको छ । तमु ह्युल छो ज धिका केन्द्रीय महासचिव डम्बर गुरूङले प्रमाण पत्र प्रदान गरे । हरेक वर्ष पुष १४ गते रातिदेखि नया वर्गको स्वागत गरिदै आएको छ ।
tamu-loshar-dharan (3)
ल्होसारको अवसरमा तमुहरूको मौलिक भेषभुषामा युवा तथा वृद्धवृद्धाहरू सहभागी बनेका थिए । यसअवसरमा आमाहरूको लागि म्युकिजल चेयर र युवाहरूको लागि हाडीफोर कार्यक्रम पनि राखिएको थियो । त्यस्तै नृत्य कार्यक्रम पनि रहेको थियो ।