तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रममा यौन शोषण, हत्या र हिंसाको दुष्चक्रबारे सेतोपाटीमा प्रकाशित समाचारको खण्डन गर्दै उनको नाममा खोलिएको संगठन बोधी श्रवण धर्मसंघले विज्ञप्ति निकालेको छ।
‘महासम्बोधी धर्मसंघ गुरूज्यूका बारेमा सेतोपाटी अनलाइन न्यूजले कपोलकल्पित, तथ्यहीन र आधारहीन समाचार बटुलेर एकैपटक एकैदिनमा चारवटा सडेका पुराना समाचार सम्प्रेषण गर्नुमा रहस्यमयी ढंगले योजनाबद्ध आक्रमण भएको छ,’ संघका सहसचिव मैत्रीय केवलले हस्ताक्षर गरेको विज्ञप्तिमा छ।
बमजनले आफ्नो नाम महासम्बोधी धर्मसंघ राखेका छन्। बोधी श्रवण धर्मसंघ भने उनको नाममा खोलिएको संगठन हो। उक्त संगठनले बमजनबारे सेतोपाटीमा आएका समाचार खारेज गरेको पनि घोषणा गरेको छ।
‘यस्ता आधारहीन सडेका बासी वकवासको बोधी धर्मसंघ पूर्णरूपमा खारेज गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। त्यस्तै बमजनका बारेमा सत्यतथ्य र गहिराइमा पुग्न पत्रकारलाई सहयोग गर्न सघं तयार रहेको जानकारी गराएको छ। अब देखि आफ्ना गुरूको समाचार लेख्दा संघलाई सोध्न पनि भनिएको छ।
‘केही सञ्चारमाध्यामहरू र यसका समाचारदाताहरूलाई कसैको जुठोपुरो खुदोमा झिंगा डुबेझैँ डुब्नबाट समयमा बचाउन पाउने अबसर यो संघलाई प्राप्त हुन नसकेकोमा खेद समेत प्रकट गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘अब उप्रान्त सूचना सम्प्रेषण गर्नुपूर्व यस संघलाई सत्यता जाँच्न सोधनीको अबसर सञ्चार जगतबाट होस भन्ने अपेक्षा गर्दछौं।’
‘बमजनद्वारा तीन आनी बेपत्ता’ भन्ने शीर्षकमा बिहिबार कान्तिपुर दैनिकले समाचार छापेपछि उसलाई पनि संघले छुट्टै विज्ञप्ति जारी गर्दै सचेत गराएको छ।
यता बमजनको आश्रम गएपछी बेपत्ता भएका आफ्ना परिवारका सदस्य खोजिदिन भन्दै नुवाकोट, मकवानपुर र बाराका ४ जनाले प्रहरीमा जाहेरी दिएका छन्।
आफ्ना बुबा खोजिदिन भन्दै मकवानपुरका महेन्द्र वाइवा, छोरा खोजिदिन भन्दै बाराका हस्तबहादुर आलेमगर, दिदी खोजिदिन भन्दै मकवानपुरका विजय रूम्बा र बहिनी खोजिदिन भन्दै नुवाकोटकी गंगामाया तामाङले आ-आफ्ना जिल्लाका प्रहरी कार्यालयमा निवेदन दिएका छन्।