पाल्पा, ८ पुस :
एकल महिलाले आयआर्जन गरी जीवनस्तर उकास्नका लागि परालको जुत्ता बनाउने सीप पाएका छन् । रिब्दीकोट गाउँपालिका आयोजना र गाउँपालिका स्तरीय एकल महिला सञ्चालको संयोजनमा सञ्चालित तालीममा सीप पाएपछि उनीहरु खुशी बनेका छन् ।
गाउँपालिकाभित्रका २५ एकल महिलाले पहिलो पटक सीप सिक्न पाएपछि खुशी भएका हुन् । तालीममा सिकेको सीप घरमा बसेर पनि जुत्ता बनाएर बेच्न सक्ने छन् । तालीम समापनमा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले सीप सिकेर घरमा बसेर पनि आम्दानी गर्न सक्ने बताउनुभयो । एकल महिलाले स्थानीय स्रोतसाधनको प्रयोग गरी जुत्ता उत्पादन, झिनीया, ढाका सिलाएर राम्रो पैसा कमाउन सक्ने अध्यक्ष जीसीले बताउनुभयो ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले महिलाले आयआर्जन गरी आत्मनिर्भर बन्न आवश्यक रहेकाले सीपको खाँचो रहेको बताउनुभयो ।
प्रशिक्षक गोमा अर्यालले सिकेको सीप प्रयोग गरेमा प्रशस्त पैसा कमाउन सकिने बताउनुभयो ।
रैनादेवी छहरा गाउँपालिकाकी महिला विकास शाखाकी पवित्रा परियारले सीप पाएपछि महिलामा अब केही गरौँ भन्ने उत्साह थपिएको बताउनुभयो ।