सभामुख महरा पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य


रोल्पा, ७ रोल्पा :

सभामुख कृष्णबहादुर महराले पूर्वविद्यार्थी मञ्चको सदस्यता लिनुभएको छ ।

उहाँले अध्ययन गरेको सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालय पूर्वविद्यार्थी मञ्चको सदस्यता लिनुभएको हो । विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीका लागि आयोजित पुनःमिलन कार्यक्रममा आज सभामुख महराले उक्त सदस्यता लिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सभामुख महराले आफूले सो विद्यालयमा अध्ययन गर्दाका दुःख कष्टकोसमेत स्मरण गर्नुभयो । आफूलाई अहिलेको अवस्थामा पुग्न विद्यालयकोसमेत ठूलो भूमिका रहेको उहाँले बताउनुभयो । अनेकौँ पुस्ताका विद्यार्थी जमघट गराउने थलोका रुपमा रहेको पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य बन्न पाएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

दुर्गमका विद्यालयले अझै धेरै समस्या भोग्नुपरिरहेको बताउँदै त्यस्ता समस्यालाई साझेदारी गर्न पूर्वविद्यार्थीलाई आग्रहसमेत गर्नुभयो । सभामुख महरालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने र पूर्वविद्यार्थी मञ्चका संयोजक खिमबहादुर घर्तीले आजीवन सदस्यता प्रदान गर्नुभएको थियो ।

प्रकाशित: समय: 14:38:36  340पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार