चिसो छल्न जाजरकोट


जाजरकोट, २८ मङ्सिर

माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् ।

चिसो छल्न डोल्पाका तीन स्थानीय तहका स्थानीयवासी घर छाडेर जाजरकोटका विभिन्न बस्तीमा आएका हुन् । माथिल्लो डोल्पाका स्थानीय तह फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङसुङ गाउँपालिकाका स्थानीयवासी लत्ताकपडा, खच्चड, भेडा लिएर बेँशी झरेका छन् ।

चिसो बढेसँगै डोल्पाका आवासीय र सामुदायिक विद्यालय बन्द गरिएका छन् । अहिले जाजरकोट झरेका डोल्पाका स्थानीयवासी यार्सागुम्बाको मौसम शुरु भएसँगै वैशाखमा माथिल्लो डोल्पा जाने गरेको फोक्सुण्डो गाउँपालिका– ६ की भगवतीखत्री गुरुङले बताउनुभयो । गाउँ नै सुनसान हुनेगरी जाजरकोटको नलगाड नगरपालिकामा बसाइँ सर्ने गरेको उहाँको भनाइ छ ।

डोल्पाबाट आउँदा सँगै ल्याएका जडीबुटी, सिमी, लगायतका वस्तु जाजरकोट, रुकुम र सल्यानसम्म गएर बिक्री गरी आएको पैसाले घर फर्कदा खाद्यान्न, लत्ताकपडा किनेर लाने गरेको डोल्पोबुद्ध गाउँपालिका – ३ का इताङ गुरुङले जानकारी दिनुभयो । जाजरकोटको नलगाड नगरपालिकाभित्र डोल्पाका कतिपय स्थानीयवासीबीच सो क्षेत्रमा बिहेवारी भएकाले पनि बस्न सजिलो भएको उहाँको भनाइ थियो । जुम्लाका स्थानीयवासी पनि पश्चिम जाजरकोटको कुशेगाउँपालिकाका विभिन्न ठाउँमा आएर तातोयाम शुरु भएसँगै जुम्ला जाने गरेका छन्

प्रकाशित: समय: 10:31:34  316पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार