काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणबारे राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले एउटा कन्फेस गरेका छन् । त्यो हो – “हाम्रो सामथ्र्यले जति गर्न सक्छ त्यो कामहरु गरिरहेका छौं” । उनले भनाइको सोझो अर्थ हो – यो प्रकरणमा नेपाल प्रहरीमाथि शंका गर्नु पर्ने कारण छैन ।
प्रहरीले जतिसम्म गर्न सक्ने हो, त्यति गरिहेको छ । अझ अगाडि बढेर उनले भने “गम्भीरताको विषयमा कुरा गर्ने हो भने मलाई निद्रा पनि लाग्दैन ।” तर यही प्रसंगमा उनले भनेको अर्को वाक्य छ “तर असुन्धानलाई प्रभावित हुने खालका गतिविधिहरु पनि नभइदियो भने हामीले यस्लाई चाँडैनै एउटा परिणाममा लैजान्छौं । ”
आईजीपी खनालले समितिलाई भनेको अर्को कुरा “कसैको प्रेसर छैन । कसैका प्रेसरले नेपाल प्रहरी अनुसन्धान प्रणाली प्रभावित हुँदैन । अहिलेको नेतृत्व प्रभावित हुने कुनै गुन्जायस छैन । अनुसन्धान जारी छ । ”
आईजीपी एउटै प्रसंगमा कहिले प्रेसर आएको छैन भन्छन् अनि कहिले “असुन्धानलाई प्रभावित हुने खालका गतिविधिहरु पनि नभइदियो भने हामीले यसलाई चाँडैनै एउटा परिणाममा लैजान्छौं” पनि भन्छन् ।
उनले कस्ता खालका गतिविधिले प्रहरीको अनुसन्धानलाई प्रभावित पारिरहेको छ, त्यो चाहिँ भनेनन् । निर्मलाका लागि न्याय माग्दै भइरहेको प्रदर्शन र अभियान नै प्रभावित पार्ने गतिविधि भन्ने हो भने, यस्ता अभियानले प्रहरीको अनुसन्धानमा कहाँनेर असर गर्छ ? कि पक्राउ परेका मान्छेहरु यस्ता खालका हुन् भनेर प्रमाण दिँदा असर हुन्छ ? त्यो आईजीपी खनालले खुट्याइ दिनुपर्छ ।
नेपाल प्रहरीको सामथ्र्यमाथि प्रश्न उठाउने ठाउँ अरु कसैले होइन, आईजीपी खनालकै शब्द सापटी लिएर भन्दा “संगठनभित्रका केही नालायककै” कारण हो । नेपाल प्रहरीले इमान्दार बनेर मात्रै काम गर्ने हो भने कसैले औंला उठाउन सक्दैन । तर निर्मला प्रकरणमा नेपाल प्रहरीको साख, वर्षौंसम्म उठ्न नसक्ने गरी गिरेको छ । निर्मला हत्या प्रकरणमा प्रहरीले आफ्नो सामथ्र्य कसरी प्रयोग गरिरहेको छ ?
हेरौं यो प्रकरणमा प्रहरीको सामथ्र्यसँग जोडिएका केही प्रतिनिधिमूलक प्रसंग –
साउन १० – हत्याको दिन निर्मलाकी आमाले अस्थायी प्रहरी पोस्ट सल्लाघारीमा जानकारी गराइन् । तर प्रहरी चौकीका इन्चार्ज सई रामसिंह धामीले फिर्ता पठाए, भोली पल्ट हेरौंला भन्दै ।
साउन ११ – बिहान ९ बजेपछि, घटनास्थलको संरक्षण गर्नुको सट्टा, प्रहरीकै निर्देशनमा जस्तो देखिने गरी निर्मलाको गुप्ताङ्ग्, शवकै छेउँमा भेटिएको उनको सुरुवाल पानीमा चोपल्दै छोपिन्छ । उनले लगाएको कपडा समेत गायब ।
साउन २४ – बिना प्रमाण दिलिप सिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक । दिलिप सिंहलाई नै अभियुक्त किटान गरेर गृहमन्त्रीलाई ब्रिफिङ गरियो प्रहरी प्रधान कार्यालयकै अगुवाइमा । कालान्तरमा प्रहरीको दाबी फेल मात्रै होइन, नियोजित देखियो ।
–तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले घटनापछि आईजीपी वा अरु कोसँग, कसको आदेशमा शव जलाउन लगाए र प्रमाण नष्ट हुँदा चुपचाप बसे ? अझै गोप्य । घटनास्थलमा कुुकुरको प्रयोग नगरिएको विषयमा जवाफ खोई ?
–एसपी विष्ट शब देखिएको ठाउँमा ३ दिनपछि साउन १४ गते मात्रै पुुग्नुको कारण ?
–डीएनए नै निर्मलाको गुप्ताङ्गबाट लिएको हो होइन भन्ने समेत निक्र्यौल हुन बाँकी ।
–निर्मलाको गुप्ताङ्ग्बाट निकालिएको भनिएको डीएनए परीक्षण नै आफ्नै ल्याबमा गराउनुको कारण ?
–प्रमाण लोप गराउन उद्दत गरेको आरोप लागेका एसपी दिल्लीराज विष्ट र उनका टोलीका केही सदस्यलाई भविष्यमा सरकारी जागिरमा अयोग्य नठहरिने (योग्य ठहरिने) गरी निलम्बनको सिफारिस ।
भदौ ८ – न्याय माग्दै भएको आन्दोलनमा प्रहरीकै गोलीबाट सनी खुनाको मृत्यु । दर्जनौंको अंगभंग ।
मंसिर तेश्रो साताः निर्मला हत्याकाण्डका अभियुक्त भन्दै दुई किशोर पक्राउ । प्रदीप रावल र विशाल चौधरी । कबूल समेत गरेको भन्दै सूचना लिक । उनीहरु कुखुरा चोरीको घटनामा मुछिएको र निर्मलाको हत्या भएको बेला, स्थानीय प्रहरी हिरासतमा रहेको खुलासा ।
निर्मला हत्या प्रकरणमा अहिलेसम्म नेपाल प्रहरीको देखिएको सामथ्र्य भनेकोः साउन २४ गते नक्कली अभियुक्त खडा गरिएका दिलिपसिंह विष्ट र पछिल्लो समय हिरासतमा राखिएका दुुई किशोर । नत्र प्रहरीले अहिलेसम्म गरेका कामको उपलब्धी शून्य हो । किनकि कुनै परिणाम आएको छैन । परिणाम भनेको निर्मलाका सक्कली हत्यारा सार्वजनिक गर्न सक्नुु हो । अनि देखिन्छ नेपाल प्रहरीको सामथ्र्य ।