प्रदीप ज्ञवालीका दुई कविता


१. यात्राबाट फर्केपछि

भर्खर फर्केको छु म

युद्धको एउटा बेग्लै मोर्चाबाट

बोकेर अँगालोमा अलिकति बिहान

र पीडाको एउटा थकित साँझ !

थाहै छ तिमीलाई –

म थिइनँ कुनै हर्कुलिस, चुकेल्याङ या भीम !

म थिइनँ अर्जुन, साइमन या कुनै इन्द्रजित !

म एउटा सामान्य मान्छे

सुदूर गाउँमा हुर्किएको !

थोरै विवेक, थोरै ज्ञान

र थोरै सामर्थ्यसहितको एउटा औंसत मान्छे !

कसरी दाबा गर्न सक्छु म

कुनै कमजोरी भएन भनेर ?

कसरी दम्भ गर्न सक्छु म

सिङ्गै महाभारत जितेँ भनेर ?

र पनि गर्व छ मलाई

मेरो यात्रामा शिर निहुराउन परेन परिवारले

रुमालले मुख छोप्नु परेन

मेरो आस्थाको घरले !

अलिकति सिन्दूर खसेको छ

पूर्वीय आकाशको सिउँदोमा

अलिकति चन्द्रमा उदाएको छ

आमाका अर्द्धमुदित आँखाहरुमा

र भर्खर खोलेर आएको छु झ्यालको पर्दा !

हे दोषी चस्माहरु !

मलाई थाहा छ – बाटो धेरै लामो छ

तर कसरी सुस्ताउन सक्छु म

बीच बाटोमै थाकेर ?

२. अँध्यारो कुनामा एउटा खाट

इतिहासको अँध्यारो कुनामा

गीत गाइरहेछु म एउटा पुरानो खाट !

भाँचिनै लागेका खुट्टाहरु

चुँडिनै लागेका डोरीहरु

अभिशप्त जिन्दगीको एउटा चौपारी बनेर

पर्खिरहेछु अझै- कामरेडको पुनरागमन !

साथमा छ एउटा निस्सिम अँध्यारो

त्यसलाई चिर्ने लामखुट्टेको सुफी सङ्गीत

छातीमा निदाएका छन् केवल

पुराना दिनका अजम्बरी सपनाहरु

अनि कहिल्यै पूरा नहुने तिर्सनाहरु !

ती अँध्यारा रातहरुमा

जतिबेला आउँथ्यौ तिमी

थकित र उदास मुद्रामा पोख्दै चिसो सुस्केरा

पुछ्दै ताता पसिना ढल्किन्थ्यौ मेरो काखमा

जसरी घुस्रिन्छ नाति मायालु हजुरआमाको अँगालोमा !

बिझाउँथ्यो होला तिमीलाई यो खस्रो डोरी

तर पनि तिम्रा आँखामा सन्तुष्टिका दियोहरु बल्थे

र मेरो काखमा बसेर लेख्थ्यौ संसार बदल्ने गीतहरु !

साथमा थियो पुरानो कसौंडी

सिलबरको थाल र पानी पिउने गिलास

ब्रेक नभएको थोत्रो साइकलको घण्टी बज्थ्यो यात्रामा

हाम्रो युद्धको पल्टन यही थियो !

हाम्रो खुशीको परिवार यही थियो !

अझै पनि अल्झिएका छन्

डोरीमा पलपलका सपनाहरु

सुकेका छैनन् अझै पसिनाका नीला दागहरु

आलै छन् रगतका टाटा र आँसुका डोबहरु !

यो इतिहासलाई अलपत्रै छाडेर

तिमी गएका थियौ पानी लिन मरुभूमिमा

तर युगौं बितिसक्यो फर्केनौ अझै

कतै बालुवाको विभिषिकामा अल्झिन त अल्झिएनौ ?

अलप त भएनै मेरा राम

सुनको मृगको पाइतालामुनि ?

हल्ला छ अचेल गाउँमा –

घाँडो भए रे जिउरे खाट र चिनियाँ साइकल !

घाँडो भए रे थोत्रो कसौंडी,

सिलबरको थाल र पानी पिउने गिलास !

हरेक साँझ गौंथलीहरु यस्तै समाचार बोकेर आउँछन्

म कान थुनेर विरह पोख्छु

ढेब्रीको मलिनो उज्यालोसँग !

प्रिय कामरेड !

म यौटा जिउरे खाट

इतिहासको अँध्यारो कुनामा लुकेर

अझै पर्खिरहेछु तिमीलाई !

प्रकाशित: समय: 11:48:54  396पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार