१६ असोज, काठमाडौं । विशेषतः हिन्दू समुदायमा छोरीको घरको पानीसमेत पिउनुहुँदैन भन्ने प्राचीन मान्यता छ । छोरीले मागेजति र आफूले सकेजति दिनेबाहेक लिनु केही पनि हुँदैन भन्ने मान्यता पनि छ ।
नेपाली कांग्रेसका सांसद प्रेमकिशोर साह अहिले यही कारण पश्चातापमा छन् । उनले आफ्नो मनको उकुस-मुकुस पीडा संसद बैठकमा पोखे । उनले सांसदलाई भन्सार छुटमा गाडी चाहियो भनेपछि असैहृय गाली पनि आएका छन् ।
छोरीको गाडीः पीडाको भारी
सांसदलाई सुविधा पुगेन भनेर संसदमा बोलेकोमा उनलाई कुनै पश्चाताप वा लज्जाबोध छैन । बरु छोरीले दिएको गाडी चढेर संसद भवन जानु परेकोमा उनलाई खपिनसक्नुको पीडा छ ।
एक वर्षअघि मृगौला प्रत्यारोपण गरेका सांसद साहका लागि गाडी बाध्यता हो । बस र टेम्पोमा यात्रा गर्दा रोग बल्झिने र सांसद भनेपछि यात्रुले ‘गिल्ला’ गरेर हैरान पारेपछि छोरीले कर गरेरै आफ्नो गाडी चढ्न बाध्य पारिन् उनलाई ।
संसद भवनको बाहिर अनलाइनखबरसँग पीडाको पोको फुकाउँदै उनले भने- हाम्रोमा छोरीको घरको पानी खानु हुँदैन, केही लिनै हुँदैन भन्ने छ । तर, मेरो नाजुक अवस्था देखेर छोरीले गाडी दिइन् । लिन्न भन्दा रुन थालेपछि बडो ‘परेसानी’ का साथ चढ्न बाध्य भएँ ।
मेरो बोली सबैको लोली
हो, यस्तै-यस्तै परेशानी सहन नसकेर उनी सांसदको सुबिधा थप्नुपर्ने माग गर्न बाध्य भएका हुन् । ‘यो कुृरा मैले बोलेँ, तर सबै सांसदको साझा कुरा हो,वास्तवमा नेपालमा सांसद पदको कुनै गरिमा र मर्यादा राखिएन’ उनले भने ।
सबै पार्टीका सांसदहरुबीच छलफल भएरै आफूले भन्सार छुटको गाडी मागेको उनले बताए । ‘पहिले पनि शेरबहादुर देउवाले दिएकै हुन् । विगतमा जस्तो सांसदका नाममा ब्यापारीले गाडी लिन्छन् भन्ने लागेमा कम्तिमा १५ वर्ष बेच्न नपाउने नियम बनाएर भन्सार छुटमा गाडी किन्न दिनुपर्छ’ उनले भने ।