संविधान संशोधन विधेयक दशैं अघि नआउने, मधेसी मोर्चाले भन्यो-सरकारले ढाँट्यो

सरकारले दशैंअगाडि संविधान संशोधन विधेयक नल्याउने भएको छ

१७ असोज,काठमाडौं । सरकारले दशैंअगाडि संविधान संशोधन विधेयक नल्याउने भएको छ  । संसद सचिवालय स्रोतका अनुसार सरकारले यो अधिवेशनमा संविधान संशोधन विधेयक नआउने जानकारी गराएको छ ।

सरकारले निर्वाचन कानुन सम्बन्धी तीन वटा विधेयक भने संसद सचिवालयमा दर्ता गराएको छ । यो भोलिको संसद बैठकमा पेश हुने बताइएको छ ।

मधेसी मोर्चाले भने संविधान संशोधन विधेयक नल्याएर सरकारले आफूहरुलाई ढाँटेको टिप्पणी गरेको छ । मोर्चाले अब सरकारलाई विश्वास गर्ने आधार समाप्त हुन लागेको बताएको छ । मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले भने-‘सरकारले हामीलाई कहिले प्रधानमन्त्री दिल्ली जानुअघि संविधान संशोधन बिधेयक दर्ता गर्ने भन्यो, कहिले दशैंअघि भन्यो । अहिले आएर केही पनि गरेन,अब विश्वास गर्ने ठाउँ रहेन ।’

स्रोतका अनुसार संविधान संशोधन सन्दर्भमा कांग्रेस र माओवादीभित्रै कुरा मिलेको छैन । सत्तापक्षमै कुरा नमिलेकाले सरकारले एमालेसँग यसबारेमा छलफल गर्न सकेको छैन ।

संविधान शंसोधनको मुख्य विषय प्रदेशहरुको सीमांकन पुनरावलोकनमा सरकारमा सहभागी दलबीचमै कुरा नमिलेकाले अहिले विधेयक आउन नसक्ने जानकारी प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेतालाई दिएका छन् ।

प्रकाशित: समय: 4:26:05  353पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार