काबेली ‘ए’ जलविद्युत् आयोजनाको काम दशैं पछि सुरु हुने


ताप्लेजुङ । चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको काम दशैं पछि सुरु हुने भएको छ ।

३७.६ मेगावाट क्षमताको उक्त आयोजना निर्माणको सम्पूर्ण प्रकृया पूरा भइसकेकाले अबको करीब एक महिनाभित्र काम सुरु भइसक्ने आयोजनाका प्रवर्द्धक प्रदीपकुमार श्रेष्ठले बताए ।

ताप्लेजुङ र पाँचथरको सीमाक्षेत्रमा बग्ने काबेली नदीबाट विद्युत उत्पादन गर्ने तयारी भएको यो आयोजना निर्माणका लागि लगानीको समस्या नभएकाले तीन वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाई छ ।

यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढाउन सकेको थिएन । स्थानीयको सहभागितामा नै आयोजना निर्माण गर्ने योजना रहेको साथै दशवटा देशमा उत्कृष्ठ काम गरिसकेको कम्पनीले निर्माणको जिम्मा लिएकाले पुनः विवाद नहुनेमा आफू ढुक्न रहेको श्रेष्ठको भनाइ छ ।

काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ । कुल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा सडक लगायत पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेकाले आयोजना निर्माण चाँडो हुने चिनियाँ निर्माण कम्पनी झिझ्याङले बताएको छ ।

निर्माणको जिम्मा झिझ्याङ, टीडब्लू र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएका छन् । यसअघि कम्पनीले स्थानीयसँगको सम्झौता विपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दै आएका थिए ।

आयोजना प्रभावित क्षेत्रहरू पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसमा सडक निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

अमरपुरको वडा नम्बर २ र ५ को खोलाखर्कमा पोखरी बनाइ साढे चार किलोमिटर सुरुङमार्गद्वारा सो पानी अमरपुर ९ पिनासी घाटको पावर हाउसमा खसाउने गरी पूर्वाधार निर्माणको काम भएको हो ।

यस्तै, स्थानीयसँगको सम्झौता बमोजिम नौ मिटर चौडाइ भएको सडक निर्माण पनि गरिएको छ ।

प्रकाशित: समय: 7:04:03  439पटक हेरिएको

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार